
पोखरा । राष्ट्रिय सभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशबाट नेपाली कांग्रेसका जगत तिमिल्सिना र नेकपा एमालेकी सम्झना देवकोटा फराकिलो मतान्तरले विजयी भएका छन्। कांग्रेस–एमाले सहमतिअनुसार अन्य समूहमा तिमिल्सिना र महिलातर्फ देवकोटाले उम्मेदवारी दिएका थिए।
प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता रहेको निर्वाचनमा गण्डकी प्रदेशमा कुल २ सय २८ मतदाता थिए। राप्रपाका दुई प्रदेश सांसदले निर्वाचन बहिष्कार गरेपछि ५७ प्रदेश सभा सदस्यले मतदान गरेका थिए। आइतबार पोखरास्थित निर्वाचन कार्यालय परिसरमा भएको मतदानमा ७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
अन्य समूहमा विजयी तिमिल्सिनाले ५ हजार ३३ मतभार प्राप्त गर्दै नेकपाका कपिल लामालाई ४ हजार ९२ मतभारको अन्तरले पराजित गरे। महिलातर्फ विजयी देवकोटाले ५ हजार १४ मतभार प्राप्त गरिन्। निर्वाचन कार्यालयले दुवै विजयी उम्मेदवारलाई प्रमाणपत्र वितरण गरिसकेको छ।
मतदानअघि जानकारी दिइए पनि प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिका मत बदर हुनुले लापरबाही देखिएको निर्वाचन कार्यालयको भनाइ छ। आगामी फागुनमा नारायणकाजी श्रेष्ठ र भगवती न्यौपानेको पदावधि सकिन लागेकाले नयाँ सदस्य चयन गरिएको हो।








