
पोखरा । पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान)को आयोजनामा पर्यटन व्यवसायी महिलाका लागि क्षमता अभिवृद्धि तालिम सोमबारदेखि पोखरामा सुरु भएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा आयोजित तालिम तीन दिनसम्म सञ्चालन हुनेछ ।
तालिमको पहिलो दिन डा. आरती रेग्मीले व्यक्तित्व विकाससँगै शारीरिक तथा मानसिक स्वास्थ्यका विषयमा सहजीकरण गरिन् । उनले व्यवसायमा सफल हुन मानसिक सन्तुलन, आत्मविश्वास र स्वस्थ जीवनशैली अपरिहार्य हुने बताइन् ।
तालिम संयोजक मीना बरालका अनुसार दोस्रो दिन मंगलबार व्यवसाय प्रवर्द्धन तथा ‘ब्रान्डिङ’ विषयमा समिर बराल र डिजिटल मार्केटिङ सम्बन्धमा विजय कुमालले प्रशिक्षण दिनेछन् । अन्तिम दिन बुधबार साइबर अपराध तथा अनलाइन ठगीसम्बन्धी सचेतनामा कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले सहजीकरण गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका वरिष्ठ निर्देशक मणिराज लामिछानेले तालिममा गरिएको लगानीले प्रत्यक्ष रूपमा व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्नुपर्ने उल्लेख गरे । उनले पर्यटन व्यवसायी महिलाको सबलीकरणका लागि आवश्यकताका आधारमा अन्य शीर्षकमा समेत बजेट विनियोजन गरिने प्रतिबद्धता व्यक्त गरे ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख नवराज भट्टराईले साइबर अपराध बढ्दो क्रममा रहेकाले यसबाट बच्न अपनाउनुपर्ने उपायबारे तालिमले स्पष्ट ज्ञान दिने अपेक्षा व्यक्त गरे । पोखरा पर्यटन परिषद्का सचिव नारायणप्रसाद सुवेदीले तालिमबाट सिकेका सीप व्यावसायिक जीवनमा व्यवहारमा उतार्न सहभागीलाई आग्रह गरे ।
टेवानकी संस्थापक अध्यक्ष लक्की कार्की क्षेत्रीले शारीरिक र मानसिक रूपमा स्वस्थ हुँदा मात्रै व्यवसायमा दीर्घकालीन सफलता हासिल गर्न सकिने बताइन् । टेवान अध्यक्ष शोभा न्यौपाने पाण्डेले तालिमबाट अपेक्षित उपलब्धि हासिल हुने विश्वास व्यक्त गर्दै पर्यटन बोर्डले क्षमता अभिवृद्धिमा सहयोग गरेजस्तै पर्यटन प्रवर्द्धनका लागि पनि व्यवसायी महिलालाई लक्षित बजेट व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याइन् ।
संस्थाकी महासचिव शोभा अधिकारी पौडेलद्वारा सञ्चालित कार्यक्रममा संयोजक मीना बरालले तालिमको उद्देश्य र महत्वबारे प्रकाश पारिन् ।











