
लेखनाथ, १२ माघ । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ ले आसन्न निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी प्रचार अभियान औपचारिक रूपमा सुरु गरेको छ। सोमबार पोखरा महानगरपालिका–२६ स्थित कालिकाचोकमा क्षेत्रीय निर्वाचन कार्यालयको उद्घाटन गर्दै कांग्रेसले चुनावी रणनीति, संगठन विस्तार तथा प्रचार–प्रसार कार्यक्रमलाई तीव्रता दिएको हो।
कार्यालय उद्घाटनसँगै कांग्रेसले क्षेत्र नम्बर १ अन्तर्गत विभिन्न उपसमितिहरू गठन गरी घरदैलो अभियान सुरु गरेको जनाएको छ। पार्टीका तर्फबाट उम्मेदवार तिलकबहादुर रानाभाटलाई विजयी गराउने लक्ष्यसहित टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद, संगठन सुदृढीकरण तथा पार्टीका नीति–कार्यक्रम जनसमक्ष प्रस्तुत गर्ने रणनीति अघि सारिएको छ।
चुनावी कार्यालय उद्घाटन तथा घोषणा कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का सभापति राजेन्द्रमणि लामिछानेले पार्टीभित्रको एकता, अनुशासन र सक्रियतामै चुनावी सफलता निर्भर रहने बताए। उनले कास्की क्षेत्र नम्बर १ मा कांग्रेसले विगतमा पुर्याएको योगदानको स्मरण गर्दै लोकतन्त्र, संविधानको रक्षा र विकासका लागि कांग्रेस उम्मेदवारलाई विजयी गराउन सबै नेता तथा कार्यकर्ता एकजुट हुनुपर्नेमा जोड दिए। साथै, घरदैलो अभियानमार्फत सबै मतदातासँग पुगेर कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरिने जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व सभामुख तारानाथ रानाभाटले लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा नेपाली कांग्रेसको ऐतिहासिक भूमिका रहेको उल्लेख गरे। उनले वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेस अझ जिम्मेवार, अनुशासित र जनमुखी बन्न आवश्यक रहेको धारणा राख्दै अनुभवी, जनताको समस्याप्रति जानकार र विकासप्रति प्रतिबद्ध उम्मेदवारको जित नै क्षेत्रको समृद्धिका लागि आवश्यक हुने बताए।
कार्यक्रममा नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ अन्तर्गतका नेता–कार्यकर्ता, भातृ तथा शुभेच्छुक संगठनका प्रतिनिधिहरूको सयौँको संख्यामा उपस्थिति रहेको थियो। सहभागीहरूले आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गर्दै प्रचार अभियानलाई थप प्रभावकारी बनाउने संकल्प व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिवहरू ओमप्रकाश गुरुङ र सरोज केसीले गरेका थिए। नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ ले आगामी दिनमा जनसम्पर्क, घरदैलो, कोणसभा तथा विभिन्न अन्तरक्रिया कार्यक्रममार्फत आफ्नो चुनावी गतिविधिलाई अझ सशक्त बनाउने जनाएको छ।









