
पोखरा। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको १०औँ स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य सचिव डा. विकाश देवकोटा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव प्रा.डा. श्रीकृष्ण श्रेष्ठ, गण्डकी विश्वविद्यालयका कुलपति, प्रतिष्ठानका पूर्व उपकुलपति, अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा सदस्य, चिकित्सक, प्राध्यापक, कर्मचारी, विद्यार्थी, पत्रकार तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा. भरत बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका शैक्षिक, स्वास्थ्य सेवा तथा अनुसन्धानसम्बन्धी विविध गतिविधि प्रतिष्ठानका डीन सह प्रा.डा. डेभिड श्रेष्ठले प्रस्तुत गरेका थिए ।
प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले प्रतिष्ठानको उपलब्धिको चर्चा गर्दै आगामी दिनमा अझ प्रभावकारी, जनमुखी र अनुसन्धानमैत्री स्वास्थ्य संस्था बन्न आवश्यक सल्लाह, सुझाव तथा निर्देशन दिएकी थिइन् । स्वास्थ्य सचिव डा. विकाश देवकोटाले शुभकामना मन्तव्य व्यक्त गर्दै प्रतिष्ठानले स्वास्थ्य शिक्षासँगै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।
स्थापना दिवसको अवसरमा प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य तथा प्रस्तुति प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए । साथै, प्रतिष्ठानले १०औँ स्थापना वर्षको अवसरमा प्रकाशित गरेको स्मारिकाको औपचारिक विमोचन समेत गरिएको थियो ।
कार्यक्रममा ३० वर्षसम्म निरन्तर सेवा प्रदान गर्नुभएका चिकित्सक तथा कर्मचारी गरी ३६ जनालाई दीर्घसेवा पदकसहित प्रशंसापत्र प्रदान गरिएको थियो । त्यसैगरी उत्कृष्ट चिकित्सक, शिक्षक, नर्स, कार्यालय सहयोगी, प्राविधिक तथा अप्राविधिक कर्मचारीहरूलाई अस्पताल स्टार, एकेडेमी स्टार, आउट स्ट्याण्डिंग अवार्डलगायतका सम्मानबाट सम्मानित गरिएको थियो । उत्कृष्ट विभाग, उत्कृष्ट एकाइ तथा प्रतिष्ठानसँग सहकार्य गर्ने साझेदार एवं सहयोगी संस्थाहरूलाई पनि प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

प्रतिष्ठानका निर्देशक सह–प्राध्यापक डा. प्रेमराज पगेनी स्वागत मन्तव्य रहेको कार्यक्रम सञ्चालन सह–प्राध्यापक डा. विद्या बास्तोलाले गरेकी थिइन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ स्थापना दिवसले संस्थाको शैक्षिक, स्वास्थ्य सेवा र अनुसन्धान क्षेत्रमा हासिल गरेको प्रगतिलाई उजागर गर्नुका साथै आगामी दिनमा अझ सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको सहभागीहरूको धारणा रहेको थियो ।










