27Shares

पोखरा — छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपअन्तर्गत महिलातर्फ न्यू डायमण्ड स्पोर्ट्स क्लब फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आज सम्पन्न खेलमा न्यू डायमण्डले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

न्यू डायमण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–२० ले जित निकाल्यो । तीन खेलबाट ९ अंक जोड्दै न्यू डायमण्ड महिलातर्फ पहिलो टोलीका रूपमा फाइनलमा पुगेको हो । अब एपीएफ, थाइल्याण्ड क्विन्स र पुलिसमध्ये एक टोली फाइनलमा पुग्नेछ ।

यसअघि आजको पहिलो खेलमा महिलातर्फ थाइल्याण्ड क्विन्सले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल सम्भावना जीवित राखेको छ । थाइल्याण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१६ ले जित निकाल्यो । आर्मी भने चारै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

पुरुषतर्फ आज भएका खेलमा पर्वत जिल्ला भलिबल संघ र गण्डकी प्रदेशले जित निकालेका छन् । पुरुषतर्फको तेस्रो खेलमा पर्वतले माल्दिभ्स भलिबल एसोसियसनलाई ३–० को सोझो सेटमा पराजित गर्दै लगातार तेस्रो जित दर्ता गर्‍यो । पर्वतले पहिलो सेट २५–१७, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१६ ले जित निकाल्यो । माल्दिभ्सले भने लगातार चौथो हार बेहोरेको छ ।

आजकै अन्तिम खेलमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । गण्डकीले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१४ ले आफ्नो पक्षमा पार्‍यो ।

च्याम्पियनसिपअन्तर्गत भोलि बुधबार चार खेल हुनेछन् । बिहान साढे ८ बजे महिलातर्फ एपीएफ र पुलिस भिड्नेछन् । त्यसपछि महिलातर्फ न्यू डायमण्ड र थाइल्याण्ड क्विन्स खेल्नेछन् । पुरुषतर्फ पुलिस र माल्दिभ्स तथा एपीएफ र आर्मीबिच खेल हुने तालिका छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिंगल राउण्ड रोबिनको आधारमा भइरहेको प्रतियोगितामा शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् । महिलातर्फको फाइनल माघ १६ गते र पुरुषतर्फको फाइनल माघ १७ गते हुनेछ ।

27Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected