
पोखरा । पोखराका प्रतिष्ठित व्यवसायी तथा समाजसेवी मनोज थापाको असामयिक निधन भएको छ । स्वास्थ्यसम्बन्धी समस्याका कारण ५१ वर्षको उमेरमा उपचारकै क्रममा उनको निधन भएको हो ।
वि.सं. २०३१ साल भदौ २४ गते जन्मिएका थापा पोखरा वर्ल्ड स्कुलको सञ्चालक समिति सदस्य तथा सुपर घलेम्दी हाइड्रोपावर लिमिटेडका निर्देशक थिए । साथै, उनी अमेरिकाको क्यालिफोर्नियास्थित एस एण्ड जी इन्टरप्राइजेजका प्रबन्ध निर्देशकसमेत थिए ।
उनका श्रीमती मोनिका थापा, छोरी सेजल थापा र छोरा गिर्वाणजंग थापा छन् । पोखरा वर्ल्ड स्कुलकी निर्देशक मोनिका थापा व्यवसायसँगै सामाजिक सेवामा समेत सक्रिय रहँदै आएकी छिन् ।
मनोज स्व. सप्तबहादुर थापा र स्व. ललिता थापाका पाँच भाइमध्ये कान्छा छोरा हुन् । उनका पिताले विश्व हिन्दु महासंघको नेतृत्व गर्दै धार्मिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान दिएका थिए । मनोजका जेठा दाजु रिवबहादुर थापा क्षेत्री समाज नेपालका केन्द्रीय अध्यक्ष हुन् ।
व्यवसायसँगै कला र सिर्जनामा रुचि राख्ने मनोज फुर्सदको समयमा चित्रकला (पेन्टिङ) गर्न मन पराउँथे । खेलकुद क्षेत्रमा पनि सक्रिय उनी एक कुशल टेनिस खेलाडीका रूपमा परिचित थिए । उनका जेठा दाजु रिवबहादुरका अनुसार मनोज बाल्यकालदेखि नै लगनशील र मेहनती स्वभावका व्यक्ति थिए ।
थापाले आफ्नो व्यावसायिक यात्रा सुरुवाती चरणमा ट्रेडिङ र हार्डवेयर व्यवसायबाट सुरु गरेका थिए । पछि हाइड्रोपावरलगायत ठूला परियोजनामा लगानी गर्दै उनी सफल व्यवसायीका रूपमा स्थापित भएका थिए ।
उनको निधनले पोखराको व्यावसायिक तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै विभिन्न संघसंस्था तथा शुभेच्छुकहरूले दुःख व्यक्त गरेका छन् ।









