5Shares

पोखरा। नेकपा एमाले पोखरा–१५ को निर्वाचन परिचालन समितिको कार्यालय सो वडाका सक्रिय जेन्जी युवाहरूले औपचारिक रूपमा उद्घाटन गरेका छन्। उद्घाटन समारोहमा सहभागी युवाहरूले कास्की क्षेत्र नं. २ का उम्मेदवार रश्मि आचार्य सबैको साझा र भरोसायोग्य उम्मेदवार भएको स्पष्ट पारे।

कार्यक्रममा बोल्दै युवाहरूले युवाको एजेन्डा कार्यान्वयन गर्न युवामैत्री नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै, युवा उम्मेदवारलाई विजयी गराएर नेतृत्वमा स्थापित गराउने प्रतिबद्धता व्यक्त गरे। “हामी व्यक्ति होइन, देशको नीति निर्माण तहमा सक्रिय र हस्तक्षेपकारी भूमिका खेल्न सक्ने सक्षम युवा उम्मेदवारको खोजीमा थियौं,” युवाहरूले भने, “अब त्यो चाहना कास्की–२ बाट रश्मि आचार्यलाई विजयी गराएर पूरा गर्छौं।”

सो अवसरमा उम्मेदवार रश्मि आचार्यले आफू युवाको सशक्तीकरणसहितका महत्वपूर्ण एजेन्डामा दृढ प्रतिबद्धताका साथ चुनावी मैदानमा आएको बताए । उनले आम मतदाताको सुझावलाई आधार बनाएर कार्ययोजना निर्माण गर्ने उल्लेख गरे ।

आचार्यले पोखरा क्षेत्र नं. २ का बासिन्दाबाट प्राप्त सुझावहरू समेटेर प्रतिबद्धता पत्र तयार गरिएको जानकारी दिँदै, सुझाव संकलनमा आफू स्वयं सक्रिय रूपमा संलग्न रहेको बताए । “बोलेर होइन, काम गरेर देखाउनुपर्छ, देश जोगाउनुपर्छ”—यस्ता सुझावहरू निरन्तर प्राप्त भइरहेको उनले भने ।

टोल–टोलका आवश्यकता, जनभावना र विशेषगरी युवाको सहभागितालाई केन्द्रमा राखेर अघि बढेकोमा युवाहरूले उम्मेदवार आचार्यप्रति धन्यवाद व्यक्त गरे। उनीहरूले विजय सुनिश्चित गर्न जिम्मेवार र अनुशासित ढंगले अभियान सञ्चालन गर्ने प्रण समेत गरे।

प्रतिबद्धता पत्रका लागि सुझाव संकलन अन्तिम चरणमा पुगेको जनाउँदै उम्मेदवार आचार्यले आज पोखरा–१७ मा मतदाता भेटघाट कार्यक्रम हुने जानकारी दिए ।

5Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected