निर्वाचनको सरगर्मी बढ्दै जाँदा काँग्रेसको चुनावी तयारी तीव्र, सिमलचौरमा क्षेत्र नं २ को प्रचार प्रसार सम्पर्क कार्यालय उद्घाटन
- February 2, 2026
- 162

पोखरा। प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा नेपाली काँग्रेस कास्की निर्वाचन क्षेत्र नं २ अन्तर्गत पोखरा महानगरपालिका–८ सिमलचौरमा आइतबार चुनाव प्रचार–प्रसार सम्पर्क कार्यालय स्थापना गरिएको छ। उक्त सम्पर्क कार्यालयको उद्घाटन नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा र कास्की क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार माधव प्रसाद बाँस्तोला ‘मधु’ले संयुक्त रूपमा गरेका हुन्।
कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सभापति शर्माले विशेष महाधिवेशनपछि नेपाली काँग्रेसभित्र कुनै गुट नरहेको स्पष्ट पारे। उनले पार्टी अब एकताबद्ध रूपमा निर्वाचनमा होमिएको बताउँदै नेतृत्व र जिम्मेवारी युवाको काँधमा पुगेकाले अब युवाका आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर काँग्रेस अघि बढ्ने धारणा व्यक्त गरे। लामो समयदेखि प्रजातन्त्र, लोकतन्त्र र संविधानको रक्षाका लागि संघर्ष गर्दै आएको नेपाली काँग्रेसलाई बलियो र सशक्त पार्टीको रूपमा हेर्ने चाहना हरेक नेपालीको रहेको उल्लेख गर्दै त्यसै अनुरूप पार्टीको नीति र कार्यक्रम अगाडि बढाइने उनले बताए।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कास्की निर्वाचन क्षेत्र नं २ का उम्मेदवार माधव प्रसाद बाँस्तोला ‘मधु’ले काँग्रेसले जेनेरेसन–जी (Gen-Z) सहित नयाँ पुस्ताका माग र अपेक्षालाई समेटेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे। विशेष महाधिवेशनमार्फत पार्टीको नेतृत्व युवालाई नै सुम्पिएको उल्लेख गर्दै उनले नेपाली काँग्रेस विचारमा स्पष्ट, लोकतान्त्रिक मूल्य–मान्यतामा अडिग र समयअनुकूल सुधार गर्न सक्ने पार्टी भएको बताए। संविधान संशोधनमार्फत संविधानमा रहेका त्रुटि र कमजोरी सच्याउँदै देशलाई समुन्नत दिशातर्फ लैजाने काँग्रेसको स्पष्ट एजेण्डा रहेको उनले मतदातामाझ राखे।
नेपाली काँग्रेस कास्की क्षेत्र नं २ का सभापति केशर निर्दोसीले सुधार र एकतासहित अघि बढेको काँग्रेसप्रति नेपाली जनताको भरोसा अझ बलियो बन्दै गएको बताए। उनले आगामी निर्वाचनमा जनताले लोकतान्त्रिक शक्तिका रूपमा काँग्रेसलाई विजयी गराउने विश्वास व्यक्त गरे।
उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं ८ का इकाई सभापति रमेश बरालले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने नेपाली काँग्रेस कास्की क्षेत्र नं २ का सचिव देवकृष्ण पराजुलीले कार्यक्रम सञ्चालन गरेका थिए। स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा निर्वाचनलाई लक्षित गरी घरदैलो, जनसम्पर्क र प्रचार अभियानलाई थप प्रभावकारी बनाइने बताइएको छ।






सम्बन्धित खवर















