
पोखरा। फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कास्कीका उम्मेदवार, नेता तथा कार्यकर्ता मतदातासँग प्रत्यक्ष संवादमा जुटेका छन् । घरदैलो कार्यक्रम र ससाना भेटघाटमार्फत उनीहरूले मतदाताका गुनासा, सुझाव र अपेक्षा संकलन गरिरहेका छन् ।
नेकपा पुरानामध्ये नयाँ र नयाँमध्ये पुरानो राजनीतिक शक्ति भएको उल्लेख गर्दै उम्मेदवारहरूले वर्तमान राजनीतिक, सामाजिक तथा आर्थिक संकटमोचनका लागि नेकपाको जित अपरिहार्य रहेको बताएका छन् ।
कास्की क्षेत्र नम्बर १ का उम्मेदवार राजकाजी गुरुङ (करण)ले सोमबार रुपा गाउँपालिकाका विभिन्न स्थानमा मतदाताको घरदैलो गर्दै उनीहरूको धारणा सुने । उनले रुपा–३ टाकेञ्जामा सहिदहरूको सालिकमा माल्यार्पण गरी भेटघाट कार्यक्रम सुरु गरेका थिए । सो अवसरमा मतदाताले विगतमा गरिएका प्रतिबद्धता र पार्टीका एजेन्डा नबिर्सन सुझाव दिएका थिए ।
त्यसैगरी, कास्की क्षेत्र नम्बर २ का नेकपा उम्मेदवार हेमबहादुर थापा (आमोद)ले गरिब, सुकुम्बासी, सीमान्तकृत समुदायदेखि राष्ट्रिय पुँजीपति वर्गसम्मलाई समेट्ने समतामूलक समाजको स्पष्ट खाका नेकपासँग मात्र रहेको दाबी गरे । अखिल नेपाल सुकुम्बासी संघ जिल्ला समिति कास्कीले आयोजना गरेको उम्मेदवारसँगको परिचयात्मक कार्यक्रममा उनले भने, “गरिब, मध्यम वर्ग र श्रमजीवी जनताको अधिकार सुरक्षित नगरी समृद्ध शहरको कल्पना सम्भव छैन । त्यसको नेतृत्व नेकपाबाहेक अरू कसैले गर्न सक्दैन ।”
कास्की क्षेत्र नम्बर ३ का उम्मेदवार गोपाल गिरीले माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरका विभिन्न क्षेत्रका मतदातासँग भेटघाट गरिसकेका छन् । ‘जेन्जी’ युवाको भावना अनुसार काम गर्ने, जातीय विभेद अन्त्य गर्ने तथा भ्रष्टाचारमुक्त समाज निर्माणका लागि नेकपाको जित आवश्यक रहेको उनले बताए । आज कास्कीको अन्नपूर्ण गाउँपालिकामा चुनावी प्रचारप्रसार तथा जनतासँग भेटघाट गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।






सम्बन्धित खवर















