
मध्यनेपाल, लम्जुङ्ग। लायन्स क्लब अफ लेखनाथ ले दुई दशकदेखि निरन्तर सञ्चालन गर्दै आएको ‘बाख्रा पैँचो कार्यक्रम’ आज मध्यनेपाल नगरपालिका–७, पैरावनमा आर्थिक रूपान्तरणको सशक्त उदाहरण बनेको छ। पैरावन कृषि तथा पशुपालन कृषक समूह मार्फत अघि बढिरहेको यस अभियानले स्थानीय समुदायलाई आत्मनिर्भरता, आयआर्जन र सम्मानित जीवनतर्फ डोर्याएको छ।
समूहका सचिव बिपना परियारका शब्दमा, “यो कार्यक्रम केवल सहयोग होइन, हाम्रो भविष्य निर्माणको आधार हो।” यही अनुभूति र आशालाई उनले कविता शैलीमा अभिव्यक्त गरेकी छन्। प्रस्तुत छ, उक्त कविताको सम्पादित र परिष्कृत रूप—
मेरो गाउँ, हाम्रो आशा
वरिपरि डाँडा–काँडा, बीचमा अति राम्रो,
सानो बस्ती, तर आफ्नै पहिचानको गाउँ हाम्रो।
जातजाति, भेषभूषा, भाषा–संस्कार थरीथरी,
रङ्गीचङ्गी हरियालीले सजिएको वरिपरि।
सम्म जग्गा, रमाइलो बस्ती, समाज पनि राम्रो,
देखे जस्तो सहज छैन जीवनशैली हाम्रो।
नगरपालिकाले नै बिर्सेको मेरो गाउँ, प्रदेशले के हेर्थ्यो होला?
सायद सहयोगी जनको नजर परे, गाउँले मुहार फेर्थ्यो होला।
उपयुक्त उर्वरभूमि, उब्जाउ पनि उत्तिकै राम्रो,
अझै नौलो पहिचान बनोस्—चाहना छ हाम्रो।
“गाउँको विकास कसरी होला?” भनी भौंतारिएका थियौं,
भाग्यवश सत्कर्म गर्ने लायन्स क्लब लेखनाथको साथ लियौं।
कृषि गरौँ, तर सिंचाइको स्रोत पर्याप्त छैन राम्रो,
गुनासो होइन—आवश्यकता हो, मनन गरिदिनुस् हाम्रो।
अनेक दल, अनेक संस्था, अनेक व्यक्तिबाट थाकेका थियौं,
हजुरहरूले आह्वान गर्नुभयो, हामीले पनि झिनो आशा लियौं।
वाचा गर्नुस्—यो बस्ती बनाउँछु भनी राम्रो,
आशालाई निराशामा परिणत नगरिदिनुस् हाम्रो।
चर्चा चलोस्—“हजुरको कर्मले हाम्रो गाउँ बनेछ दामी!”
अघि लाग्नुस्, पछिपछि पछ्याउने छौं हामी।
केही अभाव, केही प्रशंसा पनि गरे,
सुनेको छु—लायन्स नमूनाबाट ‘मितेरी गाउँ’ बन्ने अरे।
देख्ने–सुन्नेले भनोस्—“कर्मशील, कर्तव्यनिष्ठ व्यक्तिहरू रहेछन्,”
मेरो गाउँको विकास होस्, हजुरको कार्य सफल बनोस्।







सम्बन्धित खवर















