
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी सरकारको नेतृत्व गर्ने स्पष्ट लक्ष्यसहित राजनीतिमा सक्रिय भएको बताएका छन्। आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्दै उनले देशको नेतृत्व गर्नकै लागि आफूहरू राजनीतिक मैदानमा आएको उल्लेख गरे।
अध्यक्ष घिसिङले मुलुकका समग्र समस्या समाधानका लागि संसद्मा पुगेर सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे। उनले सरकारमा सहभागी भएपछिका कार्यहरू चुनावी घोषणापत्रमै उल्लेखित बुँदाअनुसार अघि बढाइने स्पष्ट पारे।
उनका अनुसार राजनीति गर्नुको उद्देश्य केवल प्रतिपक्षमा बस्नु नभई सरकारको नेतृत्व गरेर जनतासामु गरिएका प्रतिबद्धता पूरा गर्नु हो। “राजनीति गर्ने भनेकै सरकारको नेतृत्व गर्नका लागि हो। समाजमा देखिएका र देशका समस्या समाधानका लागि संसद्मा सशक्त प्रतिपक्षीका रूपमा पनि भूमिका खेल्न सकिन्छ। तर, हाम्रो मुख्य लक्ष्य सरकारको नेतृत्व गरेर आफ्ना प्रतिबद्धताहरू पूरा गर्नु नै हो,” अध्यक्ष घिसिङले भने।
उनले मुलुकको दीगो समृद्धिका लागि जलविद्युत् उत्पादनमा विशेष जोड दिइने बताए। ऊर्जा क्षेत्रको समग्र विकासलाई उज्यालो नेपाल पार्टीको प्रमुख एजेन्डा बनाइएको उनको भनाइ थियो।






सम्बन्धित खवर















