
पोखरा। कास्की निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा (एमाले) का उम्मेदवार रश्मी आचार्यले धार्मिक पर्वहरूले सामाजिक एकता, संस्कृतिको संरक्षण तथा राष्ट्रिय पहिचानलाई मजबुत बनाउने बताएका छन्।
शिवरात्री पर्वको अवसरमा निर्वाचन क्षेत्रअन्तर्गतका विभिन्न शिवालयमा पूजा–अर्चना गर्दै दर्शनार्थी भक्तजनसँग भेटघाट र आशीर्वाद लिँदै उनले धर्म, संस्कृति र प्रकृतिप्रति जिम्मेवार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले मुलुकमा बढ्दो बेथिति अन्त्य गरी “समृद्ध नेपाल, सुखी नेपाली” को आकांक्षा पूरा गर्न आफ्नो उम्मेदवारी रहेको उल्लेख गर्दै जनभावनाअनुसार विकास निर्माणलाई प्राथमिकता दिने विश्वास व्यक्त गरेका थिए ।
पोखरा महानगरपालिका–१७, सितापाइलास्थित ऐतिहासिक सदा शिव सिद्धेश्वर हरिहर मन्दिरमा दर्शन तथा पूजा–आराधना गर्दै आचार्यले धार्मिक क्षेत्रको विकास र प्रचार–प्रसारमा विशेष जोड दिनुपर्ने आवश्यकता औँल्याए ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारीका अनुसार वि.सं. १८६४ अघि निर्माण गरिएको उक्त मन्दिरसँग पोखरा–१७, विरौटामा २९ रोपनी १२ आना गुठी जग्गा रहेको छ। यस क्षेत्रको विकासमा तीनै तहका सरकार तथा स्थानीय सामाजिक व्यक्तित्वहरूको निरन्तर सहयोग रहँदै आएको उनले जानकारी दिए।
सो अवसरमा आचार्यले सिताघाट बाटो निर्माण तथा घाट व्यवस्थापन समितिले गरेको संरचनाको स्थलगत अवलोकन समेत गरे । सेती नदीमा स्नान गर्न पुगेका भक्तजनहरूले बाटो निर्माणले आवतजावत सहज बनेको प्रतिक्रिया दिएका थिए।
यसै क्रममा उनले पोखरा–१७, रातोपैह्रास्थित ओमकारेश्वर महादेव मन्दिर, छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफा, पशुपति मन्दिर तथा ओमशान्ति रानीपौवा लगायतका विभिन्न शिवालयमा पुगेर भक्तजनसँग भेटघाट गरेका थिए ।
आज बिहानैदेखि सेती नदीमा स्नान गर्ने तथा शिवालयहरूमा गाईको दूध र बेलपत्र चढाउने भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो। धार्मिक आस्थासँगै विकास र समृद्धिको एजेन्डा अघि सार्दै उम्मेदवार आचार्यले आगामी निर्वाचनमा जनसमर्थन प्राप्त हुने विश्वास व्यक्त गरे ।






सम्बन्धित खवर















