कांग्रेस उम्मेदवार रानाभाटसंग मादी बासिन्दाको गुनासो : “गाउँमै बस्ने वातावरण चाहियो”

मादी, कास्की। नेपाली कांग्रेसका तर्फबाट चुनावी प्रचारमा रहेका उम्मेदवार तिलक रानाभाटसँग गाउँवासीहरूले युवापलायनको गम्भीर समस्या राखेका छन्। गाउँमै सम्भावना हुँदाहुँदै पनि युवाहरू सहर र विदेश केन्द्रित हुँदा बस्ती सुनसान बन्दै गएको उनीहरूको भनाइ छ।
स्थानीयका अनुसार रोजगारी, शिक्षा र आधारभूत सुविधाको अभावका कारण अधिकांश युवा गाउँ छोड्न बाध्य भएका छन्। “अहिले त मलामी र आपतकालीन काममा समेत सहयोगी पाउन मुस्किल हुन थालेको छ,” एक स्थानीयले गुनासो गरे।
मादी गाउँपालिकामा पछिल्लो समय बस्तीहरू खाली हुँदै गएका छन्। उर्वर भूमि हुँदाहुँदै पनि श्रमिक अभावले खेतीयोग्य जमिन बाँझै बस्नुपर्ने अवस्था आएको छ। विशेष गरी कास्कीको उत्तर क्षेत्रमा पर्ने मादीमा समस्या विकराल बन्दै गएको स्थानीय बताउँछन्।
उत्पादन गरे पनि जंगली जनावर, विशेषतः बाँदरले नोक्सानी पुर्याउने समस्या रहेको गुनासो समेत स्थानीयले उठाएका छन्। दिगो कृषि विकास, उत्पादनमुखी कृषि पेशा र सम्भाव्यता अध्ययनमार्फत गाउँमै रोजगारी सिर्जना गर्नुपर्ने उनीहरूको माग छ।
उम्मेदवार तिलक रानाभाटले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बने गाउँमै बस्ने वातावरण सिर्जना गर्न प्राथमिकता दिइने प्रतिबद्धता जनाए। “दिगो सरकार निर्माणसँगै गाउँ फर्किने वातावरण बनाउन र कृषि तथा स्वरोजगारका क्षेत्रमा विशेष योजना ल्याइनेछ,” उनले भने। उनका अनुसार उत्पादन र बजार व्यवस्थापनलाई सुदृढ गर्दै युवालाई गाउँमै टिकाइराख्ने नीति अबको सरकारको मुख्य एजेन्डा हुनेछ।
यसैबीच नेपाली कांग्रेस कास्कीका सचिव भानुभक्त ढकालले अबको सरकारको नेतृत्व पार्टी सभापति गगनकुमार थापाले गर्ने दाबी गरे। देशका यावत समस्याको दिगो समाधान खोज्नु अबको प्रमुख एजेन्डा रहेको उनको भनाइ छ। उनले मतदातालाई रुख चिन्हमा मतदान गरी अत्यधिक बहुमतका साथ विजयी गराउन आग्रहसमेत गरेका छन्।






सम्बन्धित खवर















