
पोखरा, ३ फागुन — प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्वतका उम्मेदवारहरूले चुनावी अभियानको दायरा जिल्लाबाहिर विस्तार गरेका छन्। परम्परागत रूपमा गाउँ–टोल केन्द्रित रहने प्रचार यसपटक प्रदेश राजधानी पोखरा सम्म पुगेको छ।
नेपाली काँग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशी आइतबार पोखरा पुगेर पर्वत–पोखरा सम्पर्क समितिद्वारा आयोजित भेटघाट तथा अन्तरक्रियामा सहभागी भए। कार्यक्रममा पोखरामा स्थायी वा अस्थायी रूपमा बसोबास गर्दै आएका पर्वतेलीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
पछिल्ला वर्षहरूमा शिक्षा, स्वास्थ्य, व्यापार–व्यवसाय र रोजगारीका कारण पर्वतबाट पोखरातर्फ बसाइँसराइ बढ्दो छ। तर मतदाता नामावली भने अझै पर्वतमै कायम रहेका कारण चुनावी गणितमा ‘पोखरा बस्ने पर्वतेली’ निर्णायक बन्न सक्ने आँकलन गरिएको छ।
यसपटक चिसो मौसमका कारण पनि धेरै मतदाता बजार र बेँसीतिर झरेका छन्। यही अवस्थालाई मध्यनजर गर्दै उम्मेदवारहरूले बजार क्षेत्रमा रहेका मतदातासम्म पुग्ने रणनीति अपनाएका हुन्।
कार्यक्रममा सामाजिक सद्भाव, शिक्षा, स्वास्थ्य, रोजगारी, व्यवसाय विस्तार र समग्र क्षेत्रीय विकासका विषयमा छलफल भएको थियो। सहभागीहरूले युवाको सक्रिय भूमिका, महिलाको सहभागिता र सामाजिक संस्थाबीच सहकार्य कसरी प्रभावकारी बनाउने भन्ने विषयमा धारणा राखे।
उम्मेदवार जोशीले गाउँमा मतदाता नामावली भएका तर पोखरामा बसोबास गर्ने नागरिकका सुझाव, अपेक्षा र गुनासा सुन्न आफू पोखरा आएको बताए। “गाउँ र बजारबीचको दूरी घटाएर समन्वय बढाउन जरुरी छ,” उनले भने।
पर्वतमा प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र र सात स्थानीय तह रहेका छन्। कुल १ लाख २५ हजार ४ सय ६६ मतदाता, ७६ मतदान स्थल र १ सय ५१ मतदान केन्द्र रहेका छन्। बजारबाट गाउँमा मतदानका लागि पुग्ने मतदाताले नतिजा प्रभावित पार्न सक्ने विश्लेषणपछि दलहरू उनीहरूलाई लक्षित गर्दै सक्रिय भएका छन्।
राजनीतिक दलहरूले पोखरामा सम्पर्क समिति र संयन्त्र निर्माण गरी आफन्त र कार्यकर्तामार्फत मतदाता परिचालन थालेका छन्। बजारमा बस्ने मतदाताले भने गाउँ फर्किने वातावरण निर्माण गर्न र रोजगारीका अवसर सिर्जना गर्न उम्मेदवारहरूसँग आग्रह गरेका छन्।
पर्वतमा नेपाली काँग्रेस, एमाले, नेकपा र स्वतन्त्र उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा देखिएको छ। उम्मेदवारहरूले नीति निर्माण तहमा पर्वतको आवाज बुलन्द गर्ने, बजेट तथा योजनामा प्रभावकारी भूमिका खेल्ने, पर्यटन र कृषिमार्फत रोजगारी सिर्जना गर्ने तथा जलविद्युतमा लगानीको वातावरण बनाउने मुद्दालाई प्राथमिकतामा राखेका छन्।
यसपटकको निर्वाचनले केवल गाउँ–घरको मात्र होइन, सहरमा बसोबास गर्ने पर्वतेली मतदाताको मन जित्ने प्रतिस्पर्धा समेत झल्काएको छ। चुनावी माहोलसँगै पोखरामा ‘पर्वतेली भोट’ खोज्ने दौड तीव्र बनेको छ।






सम्बन्धित खवर















