पाँच वर्षमै चार खर्बको आइटी निर्यात लक्ष्य: ‘डिजिटल सेवा केन्द्र’ बनाउने सभापति थापाको घोषणा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले सूचना प्रविधि (आइटी) क्षेत्रलाई राष्ट्रिय आर्थिक रूपान्तरणको मुख्य आधार बनाउने घोषणा गरेका छन्। भिडियो सन्देशमार्फत सार्वजनिक गरिएको कार्ययोजनामा उनले आगामी पाँच वर्षभित्र नेपाललाई “डिजिटल सेवा केन्द्र”का रूपमा स्थापित गर्ने लक्ष्य प्रस्तुत गरेका हुन्।
थापाका अनुसार सीमित तर प्रभावकारी नीतिगत सुधार, संस्थागत समन्वय र निजी क्षेत्रसँगको सहकार्यबाट उल्लेखनीय आर्थिक उपलब्धि हासिल गर्न सकिन्छ। प्रस्तावित योजनाअनुसार पाँच वर्षभित्र करिब चार खर्ब रुपैयाँ बराबरको आइटी सेवा निर्यात तथा दुई लाखभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ।
उनले प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखेर योजनाबद्ध ढंगले अघि बढे नेपालले विश्व बजारमा प्रतिस्पर्धात्मक उपस्थिति जनाउन सक्ने दाबी गरे। “नेपालसँग युवा जनशक्ति, अंग्रेजी भाषामा दक्षता र प्रतिस्पर्धी लागतको लाभ छ। अब नीति र संरचनागत सुधारमार्फत त्यसलाई परिणाममा रूपान्तरण गर्नुपर्छ,” उनले भने।
‘आइटी दशक’को अवधारणा
थापाले सन् २०२४ देखि २०३४ सम्मको अवधिलाई ‘आइटी दशक’का रूपमा अघि बढाउने प्रस्ताव गरेका छन्। प्रारम्भिक पाँच वर्षमै निर्यात लक्ष्य हासिल गर्न कम्तीमा २०० स्वदेशी आइटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने, तीनदेखि पाँच कम्पनीलाई पूँजी बजारमा सूचीकृत गराउने तथा सीप अभिवृद्धि कार्यक्रमलाई तीव्रता दिने योजना प्रस्तुत गरिएको छ।
डाटा सेन्टर, क्लाउड सेवा, साइबर सुरक्षा र डिजिटल भुक्तानी प्रणालीलाई सुदृढ गर्दै पूर्वाधार विकासमा जोड दिने उल्लेख गरिएको छ। साथै, स्टार्टअप र नवप्रवर्तनलाई कर तथा नियामकीय सहुलियतमार्फत प्रोत्साहन गर्ने योजना पनि समेटिएको छ।
आलोचनाको प्रसंग
यसअघि कीर्तिपुरमा आयोजित एक कार्यक्रममा “ल्यापटपमार्फत उच्च आम्दानी गर्न सकिने” अभिव्यक्तिले सामाजिक सञ्जालमा आलोचना खेपे पनि थापाले ती भनाइ दीर्घकालीन नीतिगत सोचसँग सम्बन्धित रहेको स्पष्ट पारे। अघिल्लो सरकारको कार्यकालमा अध्यादेशमार्फत गरिएका सीमित सुधारले सकारात्मक संकेत दिएको उल्लेख गर्दै उनले थप संरचनात्मक र नीतिगत परिमार्जन आवश्यक रहेको बताए।
समन्वयको आवश्यकता
प्रस्तावित योजना कार्यान्वयनका लागि संघीय, प्रादेशिक र स्थानीय सरकारबीच स्पष्ट समन्वय अपरिहार्य हुने बताइएको छ। निजी क्षेत्र, शैक्षिक संस्था र प्रविधि उद्यमीबीच सहकार्य बढाउनुपर्नेमा पनि जोड दिइएको छ।
विश्लेषकहरूका अनुसार नेपालले पछिल्लो समय आउटसोर्सिङ, सफ्टवेयर विकास र डिजिटल सेवामा प्रगति गरेको भए पनि दीर्घकालीन नीतिगत स्थायित्व र लगानीमैत्री वातावरण अपरिहार्य छ।
थापाको ‘आइटी दशक’ अवधारणाले परम्परागत श्रम निर्यातमुखी अर्थतन्त्रबाट डिजिटल सेवा निर्यातमुखी मोडेलतर्फ रुपान्तरण गर्ने लक्ष्य राखेको छ। अब यो योजना कत्तिको प्रभावकारी रूपमा कार्यान्वयन हुन्छ भन्ने विषय नै आगामी दिनको मुख्य परीक्षा हुने देखिन्छ।






सम्बन्धित खवर















