8Shares

अन्नपूर्ण, कास्की । कास्की क्षेत्र नं. ३ मा चुनावी सरगर्मी बढ्दै जाँदा नेपाली कांग्रेसका उम्मेद्वार मनोज गुरुङको मतदाता भेटघाट अभियान तीव्र बनेको छ। गाउँ–टोलमा पुगेर प्रत्यक्ष संवाद बढाउँदै उनले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएका छन्।

सोमबार गुरुङले कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ७ अन्तर्गत लान्द्रुक, तान्चोक र टोल्कालगायतका क्षेत्रका मतदातासँग भेटघाट गरेका थिए। भेटका क्रममा स्थानीयका अपेक्षा सुन्दै उनले आफ्ना प्राथमिकता र प्रतिबद्धता प्रस्तुत गरे।

उनले कांग्रेस विगतका कमजोरीबाट पाठ सिक्दै रूपान्तरणको बाटोमा अघि बढेको दाबी गरे। “रूपान्तरित कांग्रेस जनताको चाहना र समयको मागअनुसार काम गर्न प्रतिबद्ध छ,” उनले भने।

उम्मेद्वार गुरुङले भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र सुशासनलाई आफ्नो प्रमुख एजेन्डा बनाएको स्पष्ट पारे। “जनप्रतिनिधि भएपछि निष्पक्ष र इमान्दार ढंगले काम गर्नेछु। सार्वजनिक स्रोत–साधनको दुरुपयोग हुन दिने छैनौं र निर्णय प्रक्रियामा पारदर्शिता कायम गर्नेछौं,” उनले अठोट व्यक्त गरे।

विगतका अनुभवबाट सिक्दै असल कर्ममा निरन्तर लागिरहने प्रतिबद्धता जनाउँदै उनले जनताको विश्वास जित्नु नै आफ्नो पहिलो जिम्मेवारी रहेको बताए। “म सधैं जनताको सेवामा समर्पित रहनेछु,” उनले भने।

भेटघाटका क्रममा स्थानीयवासीले विकास, रोजगारी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत विषयमा चासो व्यक्त गरेका थिए। गुरुङले ती सबै मुद्दालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाए।

यसैबीच, समानुपातिक उम्मेद्वार आइबहादुर नेपालीले दलित, उत्पीडित तथा जनजाति समुदायको अधिकार सुनिश्चिततामा कांग्रेसको भूमिका अग्रणी रहेको दाबी गरे। स्थानीय तहका वडा–वडामा दलित प्रतिनिधित्वको कानुनी व्यवस्था कांग्रेसकै पहलमा सम्भव भएको उनको जिकिर थियो।

8Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected