स्वतन्त्र उम्मेद्वारको समर्थनसँगै स्याङ्जा–१ मा काँग्रेस उम्मेद्वार ढकाललाई बलियो आधार

स्यांगजा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअघि स्याङ्जा–१ मा राजनीतिक समीकरण रोचक बनेको छ। स्वतन्त्र उम्मेद्वार मनोज नेपाली दर्जी (परियार) ले नेपाली काँग्रेसका उम्मेद्वार भरतराज ढकाललाई औपचारिक समर्थन घोषणा गरेका छन्।
आँधीखोला गाउँपालिका–१ पञ्चमूलमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै स्वतन्त्र उम्मेद्वार परियारले आफूले उठाउँदै आएका अजेण्डा ढकालले आत्मसात गरेको उल्लेख गर्दै समर्थन जनाएका हुन्। संघीय संसद नीति निर्माण गर्ने थलो भएकाले सक्षम प्रतिनिधि आवश्यक पर्ने धारणा राख्दै उनले ढकाललाई विजयी बनाउन मतदातासँग आग्रह गरे।
परियारले लामो समयदेखि धनी–गरिबबीचको दूरी घटाउने र गरिबी निवारण गर्ने अभियानमा सक्रिय रहेको स्मरण गराउँदै सो अभियानलाई प्रभावकारी बनाउन ढकाललाई समर्थन गरिएको बताए। काँग्रेस उम्मेद्वार ढकालले उत्पादनमुखी अर्थतन्त्र, आर्थिक उर्पाजन र रोजगारी सृजनालाई प्राथमिकता दिएका कारण आफूले समर्थन गरेको उनको भनाइ थियो।
यस अवसरमा उम्मेद्वार ढकालले बदलिएको काँग्रेसले बदलिएको समाजलाई उचित नेतृत्व दिन सक्ने दाबी गरे। “हामी र हाम्रो नेतृत्व बदलिएको छ, बदलिएको नेतृत्वले समाज बदल्ने अठोट गरेको छ,” उनले भने। नेपालीको आर्थिक तथा सामाजिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउँदै रोजगारी सृजना र आत्मनिर्भर समाज निर्माण काँग्रेसको मुख्य लक्ष्य रहेको उनले दोहोर्याए।
काँग्रेस उम्मेद्वार ढकालले स्याङ्जा–१ अन्तर्गत हरिनाश, बिरुवा, अर्जुनचौपारी, आँधीखोला, भीरकोट, वालिङ र पुतलीबजार नगरपालिकाका अधिकांश वडामा घरदैलो तथा भेटघाट कार्यक्रमलाई तीव्रता दिएका छन्। स्थानीय उत्पादन प्रवर्द्धन, पूर्वाधार विकास र रोजगारी सृजनामार्फत समुन्नत स्याङ्जा निर्माण गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
नेपाली कांग्रेसले मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ कृषि कम्पनीका पूर्व अध्यक्ष ढकाललाई उम्मेद्वार बनाएपछि स्थानीय तहमा उत्साह थपिएको बताइएको छ। हजारौँलाई रोजगारी र उल्लेख्य आर्थिक गतिविधिमा योगदान पुर्याएका ढकाललाई मतदाताले समर्थन जनाउँदै चुनावी प्रचार–प्रसारलाई तीव्र बनाएका छन्।






सम्बन्धित खवर















