0Shares

पोखरा । लायन्स डिष्ट्रिक्टभित्र फेब्रुअरी महिनामा सम्पन्न गरिनुपर्ने तेस्रो जोन मिटिङलाई प्रभावकारी र परिणाममुखी रूपमा कसरी सञ्चालन गर्ने भन्ने विषयमा पोखरामा व्यापक छलफल सम्पन्न भएको छ।

गण्डकी एरियाका जिएलटी (GLT) डिष्ट्रिक्ट को–अर्डिनेटर डिलबहादुर थापाको अध्यक्षतामा आयोजित उक्त बैठकमा डिष्ट्रिक्ट तथा पोखरा एरियाका नेतृत्वको उल्लेखनीय सहभागिता रहेको थियो। पोखरा–६, लेकसाइडस्थित रोजमेरी किचनमा सम्पन्न छलफलमा पोखरा क्षेत्रका १९ जोन चेयरपर्सनमध्ये १३ जनाको उपस्थिति रहेको थियो।

बैठकमा सहभागी जोन चेयरपर्सनहरू हरि केसी, गौतम आचार्य, बालकृष्ण न्यौपाने, विकास कंडेल, सूर्य पोखरेल, विष्णु लामिछाने, शितल श्रेष्ठ, सङ्गीता पाण्डे, जीवन ढुंगाना, विष्णु तिमिल्सिना, रेनुका गिरी, दुर्गा रञ्जित तथा विजया थापाले जोन चेयरपर्सनलाई क्लब वितरण गर्दा असन्तुलन भएको तथा केही जोनअन्तर्गत सक्रिय क्लबको अभावका कारण प्रभावकारी बैठक सञ्चालनमा कठिनाइ भइरहेको गुनासो राखे। उठाइएका जिज्ञासा र समस्याहरू डिष्ट्रिक्टका वरिष्ठ नेतृत्वबाट स्पष्ट पारिँदै समाधानमुखी सुझाव प्रस्तुत गरिएको थियो।

बैठकमा डिष्ट्रिक्ट ३२५ आई नेपालका प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवार शैलेन्द्र मोहन भट्टराईले भावी नेतृत्वको दृष्टिकोण, सदस्य अभिवृद्धि तथा सेवा कार्यक्रमको दिगोपनाबारे धारणा व्यक्त गरे। उनले “डिष्ट्रिक्टको कार्यक्रम, जोनमार्फत कार्यान्वयन” भन्ने अवधारणालाई सुदृढ बनाउँदै क्लब–डिष्ट्रिक्ट सम्बन्ध थप मजबुत बनाउनुपर्नेमा जोड दिए। नेतृत्व विकास, तालिम र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्दै जोनस्तरमा प्रभावकारी समन्वय अपरिहार्य रहेको उनको भनाइ थियो।

डिष्ट्रिक्ट चिफ पिआरओ ऋषि गिरीले सार्वजनिक सम्बन्ध सुदृढीकरण, मिडिया समन्वय तथा सामाजिक सञ्जालमार्फत गतिविधिको प्रभावकारी प्रचार–प्रसार आवश्यक रहेको उल्लेख गरे। क्लबहरूले भोगिरहेका प्रशासनिक तथा आर्थिक चुनौती समाधान गर्न डिष्ट्रिक्ट तहबाट आवश्यक समन्वय गरिने प्रतिबद्धता व्यक्त गरिएको थियो।

डिष्ट्रिक्ट एडमिनिस्ट्रेटर टंकराज अधिकारीले जोन मिटिङलाई परिणाममुखी र व्यवस्थित बनाउन बैठकपूर्व स्पष्ट एजेन्डा निर्धारण, समय व्यवस्थापनमा कडाइ, प्रतिवेदन प्रस्तुति तथा फिडब्याक प्रणाली विकास, निर्णयहरूको प्रभावकारी कार्यान्वयन र अनुगमनलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। “सिक्ने र सिकाउने अवसर नै जोन मिटिङको सार हो” भन्दै उनले निरन्तर क्षमता विकासमा जोड दिन आग्रह गरे।

यसैगरी, अर्का डिष्ट्रिक्ट एडमिनिस्ट्रेटर युवराज खनालले क्लब सक्रियता र समाधानमुखी कार्यशैलीमा जोड दिँदै जोनअन्तर्गतका क्लबहरूलाई सेवा–केन्द्रित, सक्रिय र परिणाममुखी बनाउनुपर्ने बताए। नियमित वार्षिक कार्ययोजना निर्माण, सेवा कार्यक्रमको स्पष्ट लक्ष्य निर्धारण, सदस्य सहभागिता वृद्धि, नयाँ सदस्य भर्ना, नेतृत्व विकास तथा सेवा कार्यको प्रभाव मूल्याङ्कन जस्ता विषयमा उनले सुझाव प्रस्तुत गरे।

डिष्ट्रिक्ट चिफ विष्णु ढुंगानाले आरएलएलआई (RLLI) मा सहभागिताबाट प्राप्त अनुभव र सिकाइबारे प्रस्तुति दिएका थिए।

एरिया डिष्ट्रिक्ट को–अर्डिनेटर सूर्य चापागाईको सञ्चालनमा सम्पन्न कार्यक्रममा निरा कोइरालाले धन्यवाद ज्ञापन गरेकी थिइन्। डिष्ट्रिक्ट को–अर्डिनेटर सुरेश न्यौपानेले पनि आफ़नो भनाई राखेका थिए । बैठकमा अन्तर्राष्ट्रिय तथा डिष्ट्रिक्ट शुल्कसम्बन्धी विषयमा समेत छलफल गरिएको थियो।

पछिल्लो समय डिष्ट्रिक्टले पेपरलेस प्रणाली तथा डिजिटाइजेशनतर्फ अग्रसरता लिइरहेको उल्लेख गर्दै यसबाट प्रशासनिक पारदर्शिता, द्रुत सञ्चार र प्रभावकारी अभिलेखीकरणमा सहयोग पुगेको धारणा व्यक्त गरियो। यद्यपि, नयाँ प्रणालीसँग अभ्यस्त हुन सिकाइ र अभिमुखीकरण आवश्यक रहेकोमा सहभागीहरूको जोड थियो।

यसअघि औपचारिकतामा सीमित रहने बैठकहरूलाई अब सेवा–प्राथमिकता, कार्यान्वयन र नतिजामुखी दृष्टिकोणमा केन्द्रित गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।

अव हुने तेस्रो जोन मिटिङले संगठनात्मक सुदृढीकरण, नेतृत्व विकास तथा क्लबहरूको प्रभावकारी परिचालनमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रम संयोजक डिलबहादुर थापाले सबैको सक्रिय सहभागिताले बैठक उपलब्धिमूलक बनेको उल्लेख गर्दै आगामी दिनमा अझ सशक्त सहकार्य, समन्वय र परिणाममुखी कार्यशैली अपनाउने प्रतिबद्धता व्यक्त गरे।

समग्रमा, जोन मिटिङहरू अब औपचारिकतामा सीमित नभई सिकाइ, सहकार्य र नेतृत्व परिष्कारको साझा मञ्चका रूपमा विकसित हुँदै गएका छन्, जसले लायन्सको सेवा यात्रालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected