बजार केन्द्रित चुनावी अभियानमा तिलक रानाभाट, पोखरा–२६ मा १४ ठाउँमा भेटघाट सम्पन्न

लेखनाथ —तिलक रानाभाटले बजार केन्द्रित चुनावी प्रचार अभियानलाई तीव्रता दिएका छन्। नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का उम्मेदवार रानाभाटले मादी गाउँपालिका र रुपा गाउँपालिकामा पहिलो चरणको भेटघाट तथा कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न गरेपछि अब शहरी क्षेत्र केन्द्रित प्रचारलाई अगाडि बढाएका हुन्।
बजार केन्द्रित कार्यक्रम अन्तर्गत उनले सोमबार पोखरा-२६ का विभिन्न टोल तथा बस्तीमा गरी १४ स्थानमा घरदैलो, भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरे। सो क्रममा उम्मेदवार रानाभाटले वडा नम्बर २६ मा सञ्चालन भइरहेका विकास निर्माणका कामहरूको स्थलगत अवलोकन गर्दै आवश्यक थप योजना तथा पूर्वाधार विकासमा आफूले विशेष पहल गर्ने प्रतिबद्धता जनाए।
घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा बोल्दै वडा अध्यक्ष नरेन्द्र थापाले हालसम्म सम्पन्न भएका विकास तथा जनमैत्री कार्यलाई निरन्तरता दिन र थप गति दिन रानाभाटको विजय अपरिहार्य रहेको बताए। उनले डिजिटल युगअनुसार युवा मैत्री तथा प्रविधिमैत्री विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै समग्र समुदायले हातेमालो गरेर अघि बढ्नुपर्ने धारणा राखे।
थापाले रानाभाटको विजयसँगै नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुने विश्वास व्यक्त गर्दै गगन थापा प्रधानमन्त्री बनेमा पोखरा र पोखरेलीको समग्र विकासमा थप सहयोग पुग्ने दाबी गरे।
कार्यक्रममा जनप्रतिनिधि तथा स्थानीय अगुवाहरू तीर्थराज भाट, सुदीपराज ढुङ्गाना, ध्रुव विक, श्रीमाया विक, विनी माधव अधिकारी, पार्वती बराल, बद्रीनाथ ढुङ्गाना, सरोज विक, जगन्नाथ तिमिल्सिना, सरस्वती गौतम, विक्रम ओझा, शारदा बराल, राजु गुरुङ, क्षेत्र प्रधान, माया भण्डारी, हरिबहादुर लामिछाने, रामबहादुर राना मगर लगायतले उम्मेदवार रानाभाटलाई भव्य विजयको शुभकामना व्यक्त गरेका थिए ।
पोखरा-२६ का सभापति शिवबहादुर रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वडा सचिव ईश्वरी अधिकारीले गरेका थिए भने जानकारी क्षेत्रीय सचिव ओम प्रकाश गुरुङले दिएका छन्।






सम्बन्धित खवर















