0Shares

पोखरा, ४ फागुन। प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा कास्कीका उम्मेदवारहरू मतदातासँग प्रत्यक्ष संवादमा जुटेका छन्। यसै क्रममा कास्की निर्वाचन क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला (मधु) सोमबार पोखरा–२० को भलाम र मौजामा घरदैलो अभियानमा सक्रिय देखिए।

पिपलडाली, र्‍यालेचौर, मोहरिया, आँटिघर, लामडाँडा, मौजा र बिसौनामा पुगेर बास्तोलाले मतदाताका सुझाव संकलन गरे। स्थानीयले सडक, खानेपानी, कृषि आधुनिकीकरण र रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे।

मौजा गाउँ पोखरा महानगरपालिकाभित्र परे पनि महानगरको सेवा–सुविधा नपाएको गुनासो स्थानीयले गरे।

मोहरियाका उत्तरबहादुर गुरुङले केही सडक सुधार भए पनि व्यवसायिक कृषि र रोजगारीका अवसर अभाव रहेको बताए। आँटिघरका मिलन गुरुङले पछिल्लो समय विकासले गति लिन थालेको उल्लेख गर्दै यस क्षेत्रलाई अझै प्राथमिकता दिन आग्रह गरे।

यमन गुरुङले निर्वाचनपछि नेताहरू गाउँ नफर्किने प्रवृत्ति दोहोरिन नदिन आग्रह गर्दै भने, “भलाम र काँहुखोलाबाट आउने सडक सहज भइदिए हामीलाई धेरै राहत हुन्छ।”

लामडाँडाका काशीप्रसाद गुरुङले वर्षायाममा बस नचल्ने समस्यातर्फ ध्यानाकर्षण गराउँदै बाह्रै महिना सवारी चल्ने व्यवस्था गर्न माग गरे।

कोणसभामा बोल्दै उम्मेदवार बास्तोलाले मौजा र आसपासका वडाको विकासमा विशेष ध्यान दिने आश्वासन दिए। युवाको माग सम्बोधन गर्न पार्टीभित्रै नयाँ नेतृत्व अघि सारिएको उल्लेख गर्दै उनले ढुक्क भएर कांग्रेसलाई मतदान गर्न आग्रह गरे।

स्थानीय कांग्रेस नेता तोरण गुरुङ, हिराजंग गुरुङ, सकुन्तला गुरुङ र मिलन गुरुङलगायतले पनि गाउँको पूर्वाधार विकास र रोजगारी सिर्जनामा जोड दिएका थिए।

निर्वाचनको माहोल तातेका बेला मौजामा देखिएको मतदाता–उम्मेदवार प्रत्यक्ष संवादले विकासका मुद्दालाई केन्द्रमा ल्याएको स्थानीयको भनाइ छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected