0Shares

पोखरा । पोखरा–१५ हरियोखर्क निवासी ६७ वर्षीया बीभा तामाङ मंगलबार बिहान आफ्नै घर अगाडि बसिरहेकी थिइन्। त्यही बेला नेपाली कांग्रेसका तर्फबाट कास्की निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार माधव प्रसाद बास्तोलासहितको टोली मत माग्न उनको घरदैलोमा पुग्यो।

घरदैलोका क्रममा अधिकांश मतदाताले सडक, पुल, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीजस्ता विकासका मुद्दा उठाए। तर तामाङले भने फरक र गम्भीर माग राखिन्—“युवालाई कुलतबाट जोगाउने काममा दलहरूले सक्रिय पहल गरून्।”

उनले पोखरामा किशोर–किशोरी नै बढी दुर्व्यसनमा फसिरहेको उल्लेख गर्दै त्यसले परिवार र समाज दुवैलाई असर पारेको बताइन्। “लागुऔषधको लतले बाबुआमाले दुःख मात्रै पाएका छैनन्, समाज नै प्रभावित भएको छ,” उनले भनिन्, “एउटै परिवारका दुई–तीन जना सदस्यसमेत कुलतमा फसेका उदाहरण छन्।”

उनको आग्रह थियो—नेताहरूले युवालाई सही बाटोमा डोर्‍याउने कार्यक्रम ल्याउनुपर्छ। “हामी मजदुरी गरेर भए पनि पेट पाल्छौं, तर छोराछोरी जोगाइदिनुहोस्,” उनले भावुक अपिल गरिन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार जिल्लामा सबैभन्दा बढी १५ देखि २४ वर्ष उमेर समूहका युवा दुर्व्यसनमा फस्ने गरेका छन्। उक्त समूहका ५२ प्रतिशत घटना सोही उमेर समूहसँग सम्बन्धित रहेको तथ्यांक छ। २५ देखि ३५ वर्ष उमेर समूहका ४२ प्रतिशत र बाँकी ३१ प्रतिशत ११–१२ कक्षामा अध्ययनरत विद्यार्थी रहेको उल्लेख गरिएको छ। साथी–संगतको प्रभावका कारण विद्यार्थीहरू लतमा फस्ने गरेको प्रहरीको अध्ययनले देखाएको छ।

यसैबीच उम्मेदवार बास्तोलासहितको टोलीले मंगलबार पोखरा–१५ का हरियोखर्क, नयाँगाउँ, टुटुङ्गा, कोलपाटन, काजीपोखरी र रामबजारलगायतका क्षेत्रमा घरदैलो कार्यक्रम सञ्चालन गरेको थियो। स्थानीयवासीले सडक स्तरोन्नति, खानेपानी, ढल निकास, सुकुम्बासी समस्या तथा सेती नदी कटान नियन्त्रणजस्ता माग राख्दै विजयको शुभकामना दिएका थिए।

पोखरा–१५ का मतदाताले विकासका आधारभूत पूर्वाधारसँगै युवामा बढ्दो दुर्व्यसन नियन्त्रणलाई प्राथमिकतामा राख्नुपर्ने स्पष्ट सन्देश दिएका छन्। निर्वाचनको माहोल तातिँदै गर्दा सामाजिक सरोकारको यो मुद्दा अब उम्मेदवारहरूले कसरी सम्बोधन गर्छन् भन्ने चासो बढेको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected