15Shares

पोखरा ।  नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नम्बर ३ ले प्रतिनिधिसभा निर्वाचन–२०८२ लक्षित गर्दै आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। निर्वाचन परिचालन समितिले सार्वजनिक गरेको उक्त दस्तावेजमा सुशासन, पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिलाई मुख्य एजेन्डा बनाइएको छ।

एमालेले मुलुकको स्वाधीनता, सार्वभौमिकता र संविधानको संरक्षण गर्दै जनताको जीवनस्तर उकास्ने लक्ष्यसहित ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय संकल्प कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। कास्की–३ लाई शिक्षा, पर्यटन, कृषि र पूर्वाधार विकासको नमूना क्षेत्रका रूपमा विकास गर्ने योजना प्रतिबद्धता पत्रमा समेटिएको छ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवार दामोदर बैरागीलाई विजयी गराउन आह्वान गर्दै पार्टीले विगतमा सुरु भएका विकास आयोजना पूर्णता दिने र नयाँ योजना अघि बढाउने जनाएको छ।

पूर्वाधार विकासमा विशेष प्राथमिकता

प्रतिबद्धता पत्रमा सडक सञ्जाल विस्तार, खानेपानी, विद्युत, दूरसञ्चार, ढल निकास तथा फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ। पोखराको बाग्लुंग बसपार्कलाई आधुनिक ट्रान्जिट हबका रूपमा विकास गर्ने, फेवाताल परिक्रमा पैदलमार्ग निर्माण गर्ने तथा सेती नदी, मोदी नदी र मर्दी नदीमा करिडोर निर्माण गर्ने योजना उल्लेख गरिएको छ।

त्यसैगरी सुरुङमार्गसहित चक्रपथ निर्माण, पुल तथा तटबन्ध, खेल मैदान स्तरोन्नति, हेलिपोर्ट निर्माण तथा विभिन्न खानेपानी आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाइएको छ।

कृषि, रोजगारी र आर्थिक विकास

एमालेले सहकारीमार्फत स्थानीय पूँजी परिचालन, कृषि आधुनिकीकरण, जडीबुटी खेती प्रवर्द्धन, दुग्ध प्रशोधन केन्द्र स्थापना तथा कृषि तथा पशु बीमा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

‘एक घर एक रोजगार’ कार्यक्रममार्फत युवालाई सीपमूलक तालिम, सहुलियत ऋण र उद्यमशीलतामा प्रोत्साहन गर्ने योजना पनि समेटिएको छ।

शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा

प्रतिबद्धता पत्रमा आधारभूत तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षा सुनिश्चित गर्ने, विद्यालयमा प्राविधिक तथा कम्प्युटर शिक्षा विस्तार गर्ने तथा उच्च शिक्षाको प्रवर्द्धन गर्ने योजना उल्लेख छ।

प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवा विस्तार, घुम्ती स्वास्थ्य शिविर सञ्चालन तथा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विपन्न वर्गका लागि विशेष स्वास्थ्य सुविधा उपलब्ध गराउने प्रतिबद्धता गरिएको छ।

पर्यटन र सांस्कृतिक प्रवर्द्धन

पोखरा तथा आसपासका क्षेत्रलाई पर्यापर्यटन, साहसिक पर्यटन र सांस्कृतिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने एमालेको योजना छ। पंचासे, मर्दी हिमाल अन्नपूर्ण र माछापुच्छ्रे क्षेत्रका पदमार्ग संरक्षण तथा प्रवर्द्धन, होमस्टे विकास र पर्यटन पूर्वाधार विस्तार गर्ने प्रतिबद्धता जनाइएको छ।

फेवाताल संरक्षण, वातावरणीय सन्तुलन, वृक्षारोपण तथा विपद् व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको छ।

सुशासन र सेवा प्रवाह सुधार

एमालेले प्रशासनिक सुधार, पारदर्शिता र जनमैत्री सेवा प्रवाह सुनिश्चित गर्ने, भूमिहीन र सुकुम्बासी समस्या समाधान गर्ने तथा सरकारी सेवामा सुशासन कायम गर्ने प्रतिबद्धता जनाएको छ। जनप्रतिनिधिको सम्पर्क कार्यालय स्थापना गरी जनतासँग प्रत्यक्ष सम्बन्ध कायम गर्ने योजना पनि उल्लेख गरिएको छ।

एमालेले कास्की क्षेत्र नम्बर ३ का मतदातासँग सूर्य चिन्हमा मतदान गरी आफ्ना उम्मेदवारलाई विजयी गराउन आह्वान गर्दै समग्र क्षेत्रको विकास र समृद्धिका लागि निर्णायक जनमत आवश्यक रहेको जनाएको छ।

15Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected