
पोखरा, ५ फागुन । कास्की क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दामोदर पौडेल वैरागीले मंगलबार कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंं. १, २ र ३ मा घरदैलो तथा भेटघाट गरेका छन् ।
सो क्रममा स्थानीय मतदाताले अघिल्लो कार्यकालमा अघि बढाइएका विकास योजनालाई निरन्तरता दिन आग्रह गरेका थिए । विशेषगरी ढिकुरपोखरीका स्थानीयहरूले बाँदरको आतंकका कारण खेतीपाती गर्न नसकिएको गुनासो गर्दै बाँदर व्यवस्थापनका लागि संसदबाट नीतिगत निर्णय गराउन माग गरेका छन् ।
रानीथोकका स्थानीयसँग संवाद गर्दै वैरागीले देश निराशाको अवस्थामा रहेको उल्लेख गरे । उनले आफूले नयाँ सपना बाँड्नेभन्दा पनि पुराना प्रतिबद्धता पूरा गर्ने योजना रहेको बताए । ‘मसँग नयाँ–नयाँ योजना केही छैनन्, तपाईँहरूलाई पहिले गरेका वाचा र अधुरा योजनाहरूलाई पूरा गर्ने लक्ष्य मात्र छ,’ उनले भने ।
उनले चुनावी आचारसंहिता शतप्रतिशत पालना गर्ने, मतदाताको मानवअधिकार उल्लंघन नगर्ने र स्वच्छ निर्वाचनका लागि प्रतिबद्ध रहने बताए ।
स्थानियले वन क्षेत्रबाट काठ काट्न नपाउँदा जीविकोपार्जनमा समेत असर परेको बताएका छन् । उम्मेदवार वैरागीले बाँदर व्यवस्थापन तथा वनसम्बन्धी समस्याको समाधानका लागि नीतिगत पहल गर्ने प्रतिबद्धता जनाए ।
यस क्षेत्रको अर्को मुख्य समस्या सिँचाइ र खानेपानी रहेको स्थानीयले बताएका छन् । यस विषयमा वैरागीले स्पष्ट प्रतिबद्धता जनाउँदै भने, ‘म कामको जिम्मा लिन्छु, विकासको जिम्मा लिन्छु । बाटो, सिँचाइ र खानेपानीका समस्या समाधान गर्न पहल गर्छु । म सधैँ तपाईंहरूसँगै छु । म रहदासम्म देश विकासमा लागिरहन्छु ।’ उनले अधुरा सपनाहरूलाई पूरा गर्न अवसर दिन मतदातासँग आग्रह गरेका छन् ।






सम्बन्धित खवर















