
पोखरा । पाठेघरको क्यान्सरबाट पीडित वर्ष ३४ की दुर्गा आले मगरलाई लायन्स क्लब मार्फ़त राहत सहयोग प्रदान गरिएको छ। लायन्स क्लब अफ़ पोखरा समर्पितका अध्यक्ष बन्दना केसीको संयोजनमा सम्पन्न कार्यक्रममा पीडितलाई केही दिनको खानाका लागि आवश्यक रु. ७ हजार बराबरको खाद्यान्न तथा रु. १३ हजार नगद हस्तान्तरण गरिएको हो।
अत्यन्तै पीडादायी अवस्थामा रहेकी दुर्गा आले मगरका एक मात्र छोरा छन्। परिवारमा हेरचाह गर्ने अन्य सदस्य नभएको र आर्थिक अवस्था कमजोर रहेको जनाइएको छ। उपचार र दैनिक जीवनयापन दुवैका लागि उहाँलाई तत्काल सहयोगको खाँचो रहेको क्लबले जनाएको छ।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष तथा GET कोअर्डिनेटर भावना बसेल, जोन चेयरपर्सन विजय थापा, सदस्य सीता केसी, सदस्य निशा क्षेत्रीलगायतको उपस्थिति रहेको थियो। सहभागीहरूले मानवीय संवेदनासहित सहयोग अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
क्लबले दुर्गा आले मगरको उपचार तथा जीवनयापनका लागि थप सहयोग आवश्यक रहेको भन्दै सहयोग गर्न इच्छुक सबै महानुभावहरूलाई मानवीय सहयोगका लागि क्लबले आग्रह गरेको छ।
“घरपरिवारमा सहयोग गर्ने कोही नभएकी दुर्गालाई जीवनरक्षा र उपचारका लागि अत्यन्तै सहयोगको आवश्यकता छ,” क्लबले फेसबुक पेजबाट अपिल गर्दै जनाएको छ। सहयोग गर्न इच्छुक व्यक्तिहरूले सम्बन्धित क्लबमार्फत वा प्रत्यक्ष सम्पर्क गरी सहयोग गर्न सक्ने व्यवस्था पनि मिलाइएको जनाइएको छ।






सम्बन्धित खवर














