0Shares

पोखरा — आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सरोकारवालाले निर्वाचन आचारसहिंताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिइएको छ।

राष्ट्रिय समाचार समिति (रासस)को ६५औँ वार्षिकोत्सवका अवसरमा रासस, गण्डकी प्रदेश कार्यालयले बुधबार पोखरामा आयोजना गरेको ‘निर्वाचन आचारसहिंतामा सञ्चार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले निर्वाचन आचारसहिंता कार्यान्वयनमा सञ्चार जगतको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले आचारसहिंता केवल आचरणसँग सम्बन्धित नभई कानुनी पक्ष पनि भएको बताए। उनले भने, “आचारसहिंता आफैं कानुन नभए पनि यसको उल्लङ्घन हुँदा अन्य कानुन लागु हुन्छन्, त्यसैले यसको पालना कानुनी दृष्टिले पनि आवश्यक छ। सञ्चार क्षेत्रले यसको निगरानी र खबरदारीमा सक्रिय भूमिका खेल्नुपर्छ।” मुख्य निर्वाचन अधिकृतले पत्रकारले निर्वाचनसम्बन्धी सूचनामा पहुँच, उपलब्धता र व्यापकता बढाउँदै जनस्तरमा सत्यतथ्य सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।

गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले आचारसहिंता कार्यान्वयनमा सञ्चारमाध्यम र पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताइन् । उनले पत्रकार स्वयं पनि आचारसहिंता पालनामा जिम्मेवार हुनुपर्ने बताईन् ।

प्रेस काउन्सिलका सदस्य केशवशरण लामिछानेले पत्रकार र सञ्चारमाध्यमले आचारसहिंता उल्लङ्घन गरेको घटनामा काउन्सिलले छानबिन र कारबाही गर्ने गरेको जानकारी दिए । गण्डकी प्रदेश निर्वाचन कार्यालयका प्रमुख नारायण ढकालले आचारसहिंता कार्यान्वयनको अनुगमन भइरहेको र राजनीतिक दल तथा सरोकारवालासँग नियमित छलफल भइरहेको जानकारी गराए ।

राससका पूर्वकार्यकारी अध्यक्ष कोमलनाथ बराल, नेपाल पत्रकार महासङ्घ, गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, र कास्की शाखाका अध्यक्ष माधब बरालले राससले पत्रकारिता विकासमा खेल्दै आएको भूमिका र आचारसहिंता पालनामा पत्रकारहरुको जिम्मेवारीको महत्व उल्लेख गरे ।

अन्तरक्रिया कार्यक्रममा पत्रकार माधव शर्मा, कृष्णप्रसाद बाँस्तोला, कमल पौडेल ‘अथक’, मोतीसागर अधिकारी, दीनानाथ बराल, शिव बस्ताकोटी, फडिन्द्र अकिञ्चन लगायतले सुझाव तथा जिज्ञासा राखेका थिए ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected