
पोखरा। नेपाली काँग्रेसका तर्फबाट कास्की निर्वाचन क्षेत्र नं २ का उम्मेदवार माधव प्रसाद बास्तोलाको घरदैलो कार्यक्रम तीव्र गतिमा भइरहेको छ। बुधबार पोखरा–७ का विभिन्न टोलमा उम्मेदवारसहित काँग्रेसका नेता तथा कार्यकर्ताले बिहानैदेखि मतदाताको घरदैलोमा पुगेर सुझाव संकलन र मत माग्न व्यस्त देखिए।
पोखरा–७ को मासवारदेखि सुरु गरिएको घरदैलो अभियान अन्तर्गत शान्तिनगरचोक, नुवारथोक, बुलौदी, रत्नचोक, राष्ट्रबैंक चोक, टुरिष्ट बसपार्क, माछापुच्छ्रे टोल, अन्नपूर्ण टोल, सिमलचौर, मुस्ताङचोक, प्रगतिनगर, घारिपाटन, राधकृष्ण टोल लगायतका क्षेत्रमा कार्यक्रम सम्पन्न भएको जानकारी नेपाली काँग्रेस वडा नं ७ का सभापति नवीन बरालले दिए।
मत माग्दै गरेको क्रममा उम्मेदवार बास्तोलालाई वुढावुढीदेखि युवा जेन्जी समूहसम्मले विजयको आर्शीवाद दिएका थिए। रत्नचोकमा आयोजित कोणसभामा सम्बोधन गर्दै उनले जेन्जी समूहका माग काँग्रेसले पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।
बास्तोलाले भने, “काँग्रेस खुला किताव हो, यहाँ जुनसुकै व्यक्ति स्वतन्त्र रूपमा आफ्ना क्रियाकलाप गर्न सक्छन्। यसका विपरीत अन्य पार्टीमा यस्तो वातावरण छैन।” उनले पार्टीको बलियो नेतृत्व र प्रजातन्त्रका लागि लामो समयदेखि गरेको संघर्षको स्मरण गर्दै मतदातासँग पार्टीको दृढ प्रतिवद्धता साझा गरे।
उम्मेदवार बास्तोलाले विशेष महाधिवेशनमा पार्टी सभापतिमा युवा नेतृत्व चयन भएको स्मरण गराउँदै, संविधान संशोधन मार्फत त्रुटी र कमजोरी सच्याएर पार्टीलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे।
घरदैलो कार्यक्रममा नेपाली काँग्रेसका नेता सोभियत बहादुर अधिकारी, बीरेन्द्रनारायण विजुक्छे, दुर्गा तिमिल्सेना, किरण केसी, केशर निर्दोषी लगायतको सहभागिता रहेको थियो।
त्यसैगरी मंगलबार पोखरा–१५ को कोलपाटन, रामबजार, नयाँगाउँ, टुटुङ्गा, हरियोखर्कमा समेत मतदाताको घरदैलो कार्यक्रम सम्पन्न भएको थियो। घरदैलोको क्रममा मतदाताले खानेपानी, पुल, सडक, ढल लगायतका समस्याहरू उठाएका थिए।
हरियोखर्क निवासी ६७ वर्षीया बिभा तामाङले घरदैलोमा उम्मेदवारलाई आग्रह गर्दै भनिन्, “कुलतमा फसेका युवाहरुलाई सही बाटोमा ल्याउन काँग्रेसले पहल गर्नुपर्छ।” बास्तोलासहितको टोलीले यस विषयमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेको छ।






सम्बन्धित खवर













