16Shares

पोखरा । प्रतिनिधि सभा कास्की क्षेत्र नं. ३ का नेपाली कांग्रेसका उम्मेद्वार मनोज गुरुंगले कास्कीमा विशेषज्ञ सेवासहितको सुविधासम्पन्न मुटु, बर्न (जलन) र बाल अस्पताल स्थापना गर्ने प्रतिबद्धता जनाएका छन्। उनले आफ्नो चुनावी संकल्पपत्र सार्वजनिक गर्दै स्वास्थ्य पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राख्ने घोषणा गरेका हुन्।

उनका अनुसार कास्की र समग्र गण्डकी प्रदेशमा मुटु, जलन तथा बाल रोगका बिरामीका लागि अत्याधुनिक र समग्र सेवा दिने अस्पतालको अभाव छ। “स्थानीय स्तरमै विशेषज्ञ सेवा उपलब्ध गराउन सके बिरामीलाई उपचारका लागि राजधानी धाउनुपर्ने बाध्यता अन्त्य हुन्छ,” उनले भने।

गत बर्ष पोखरमा भ्रमण वर्ष उद्घाटनका क्रममा भएको आगलागी घटनामा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरामा मेयर धनराज आचार्य गम्भीर घाइते भएपछि पोखरामा सुविधासम्पन्न बर्न अस्पतालको आवश्यकता थप चासोको विषय बनेको थियो।

हाल आईएनएफ नेपाल अन्तर्गत हरियोखर्कस्थित अस्पतालमा ‘बर्न युनिट’ सञ्चालनमा आए पनि पूर्ण क्षमताको बर्न अस्पताल अझै आवश्यक रहेको गुरुङको भनाइ छ। “बर्न युनिटले प्रारम्भिक उपचारमा सहयोग पुर्‍याएको छ, तर जटिल अवस्थाका बिरामीलाई अझै बाहिर रिफर गर्नुपर्ने अवस्था छ,” उनले उल्लेख गरे।

गुरुङले पोखरालाई गण्डकी प्रदेशकै स्वास्थ्य केन्द्रका रूपमा विकास गर्न संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। आवश्यक बजेट विनियोजन, पूर्वाधार निर्माण र विशेषज्ञ जनशक्ति व्यवस्थापनका लागि सबै तहबीच सहकार्य गरिने उनले स्पष्ट पारे।

“स्वास्थ्य सेवा सर्वसुलभ र सहज बनाउन दीर्घकालीन योजना आवश्यक छ,” उनले भने, “मुटु, बर्न र बाल अस्पताल स्थापनाका लागि आवश्यक पहल र नीति निर्माणमा सक्रिय भूमिका खेल्नेछु।”

उम्मेद्वार गुरुङले आफ्नो निर्वाचन क्षेत्रमा मतदाता भेटघाट अभियानलाई तीव्र बनाएका छन्। सोमबारदेखि पोखरामा केन्द्रित कार्यक्रमअन्तर्गत उनले वडा नं. १ र २ मा अभियान सम्पन्न गरेका छन् भने बिहीबार वडा नं. ३ मा कार्यक्रम तय गरिएको छ। पोखरा–३ मा सम्पर्क कार्यालयसमेत उद्घाटन गरिएको जानकारी उनले दिएका छन्।

यसअघि उनले कास्कीका अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाका अधिकांश स्थानमा अधिकांश स्थानमा चुनावी अभियान सम्पन्न गरिसकेका छन्। मतदाताबाट प्राप्त सकारात्मक प्रतिक्रियाले आफू उत्साहित भएको उनले बताएका छन्।

गुरुङले भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र सुशासनलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको बताएका छन्। “जनप्रतिनिधि भएपछि निष्पक्ष र इमान्दार ढंगले काम गर्नेछु। सार्वजनिक स्रोत–साधनको दुरुपयोग हुन दिने छैनौं र निर्णय प्रक्रियामा पारदर्शिता कायम गर्नेछु,” उनले अठोट व्यक्त गरे।

उनले विगतका अनुभवबाट पाठ सिक्दै ‘रूपान्तरित कांग्रेस’ले जनताको चाहना र समयको मागअनुसार काम गर्ने दाबी गरे। “जनताको विश्वास जित्नु नै मेरो पहिलो जिम्मेवारी हो। म सदैव जनताको सेवामा समर्पित रहनेछु,” उनले भने।

समानुपातिक उम्मेद्वार आई बहादुर गुरुंगले दलित, उत्पीडित तथा जनजाति समुदायको अधिकार सुनिश्चिततामा कांग्रेसको भूमिका अग्रणी रहेको दाबी गरे। स्थानीय तहका वडा–वडामा दलित प्रतिनिधित्व सुनिश्चित गर्ने कानुनी व्यवस्था कांग्रेसकै पहलमा सम्भव भएको उनको भनाइ थियो।

स्थानीय मतदाताले विकास, रोजगारी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत विषयमा चासो व्यक्त गरेको उल्लेख गर्दै उम्मेद्वार गुरुङले ती सबै मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

कास्कीलाई सुविधासम्पन्न स्वास्थ्य पूर्वाधारसहित गण्डकी प्रदेशकै सशक्त स्वास्थ्य केन्द्र बनाउने लक्ष्यसहित उनको चुनावी अभियान यतिबेला तीव्र रूपमा अघि बढिरहेको छ।

16Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected