
लेखनाथ, ७ फागुन — नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ ले मतदाताहरूको सुझाव संकलन अभियानलाई तीव्र पारेको छ। कांग्रेसका उम्मेदवार तिलक रानाभाटले क्षेत्र नम्बर १ को समग्र विकासका लागि अघि बढाइने योजनाबारे तथ्याङ्क सङ्कलन गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट सुरु गरेका हुन्।
उम्मेदवार रानाभाटले आफू विजयी भएपछि संसदमा प्रस्तुत गरिने विकास योजनाहरूको खाका तयार पार्न घरदैलो तथा छलफल कार्यक्रममार्फत सुझाव लिइरहेको बताए। उनका अनुसार अब बन्ने सरकार नेपाली कांग्रेसको नेतृत्वमा हुने दाबी गर्दै विकास निर्माणमा देखिएका कानुनी अवरोध हटाउन संविधान संशोधनसमेत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
पहिलो चरणअन्तर्गत सचिवालय उद्घाटन तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरिएको जनाउँदै रानाभाटले प्रारम्भिक रिपोर्ट तयार भइसकेको जानकारी दिए। “अब सङ्कलित तथ्याङ्कका आधारमा क्षेत्रका प्राथमिकता निर्धारण गरी योजनाबद्ध विकास कार्यक्रम अघि बढाइनेछ,” उनले भने।
यसैबीच, चुनाव प्रचार–प्रसारलाई सशक्त बनाउन नेपाली कांग्रेस कास्की १ ले भातृ संगठनहरूलाई सक्रिय बनाएको छ। चुनाव परिचालन समितिका संयोजक एवं क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछानेका अनुसार नेपाल तरुण दल, नेपाल विद्यार्थी सङ्घ र नेपाल महिला सङ्घ लगायतका संगठनहरूलाई परिचालन गर्दै व्यापक मतदाता सम्पर्क अभियान सञ्चालन गरिनेछ।
कांग्रेसले सुझाव सङ्कलन अभियानमार्फत क्षेत्रका समस्या पहिचान गरी तथ्याङ्कमा आधारित विकास रणनीति निर्माण गर्ने जनाएको छ।






सम्बन्धित खवर














