स्याङ्जामा निर्वाचन सुरक्षा कडा पारिदै कार्यक्षेत्रमा खटिदै निर्वाचन प्रहरी

स्याङ्जा, ९ फागुन । आगामी फागुन २१ गते हुने संघीय निर्वाचनका लागि स्याङ्जाका २ निर्वाचन क्षेत्रमा सुरक्षाकर्मी खटाउने कार्यलाई तिब्रता दिइएको छ । पहिलो चरणमा निर्वाचन प्रहरीलाई आफ्नो कार्यक्षेत्रमा खटाइएको छ भने दोस्रो चरणमा सुरक्षाका अन्य अंगलाई परिचालन गरिने छ ।
जिल्लाका ११ पालिकामा रहेका १९९ मतदानस्थल र ३२२ मतदान केन्द्रमा केन्द्र अनुसार निर्वाचन प्रहरी खटाइएको हो । जिल्लाका पुतलीबजार नगरपालिकामा २९०, भीरकोट नगरपालिकामा १४३, वालिङ नगरपालिकामा २६९, गल्याङ नगरपालिकामा २५२ र चापाकोट नगरपालिकामा १८० निर्वाचन प्रहरी परिचलान गरिएको छ ।

त्यसैगरी कालीगण्डकी गाउँपालिकामा १८४, हरिनास गाउँपालिकामा १४८, बिरूवा गाउँपालिकामा १३३, अर्जुनचौपारी गाउँपालिकामा ११७, फेदिखोला गाउँपालिकामा ९१ र आँधीखोला गाउँपालिकामा १४० निर्वाचन प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । मतदान केन्द्र र संवेदनशिलता हेरेर आवश्यक संख्या परिचलान गरिएको प्रहरीले जनाएको छ ।
मतदान केन्दको संख्या, त्यस क्षेत्रको संवेदनशिलतालाई हेरेर निर्वाचन प्रहरी खटाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दधिराम न्यौपानेले बताए । जिल्लामा दुई हजार १२४ जना निर्वाचन प्रहरी आवश्यक रहेकोमा प्रहरी मातहत रहेका एक हजार ९४७ जना निर्वाचन क्षेत्रमा खटाएको न्यौपानेले जानकारी दिए ।
मतदान केन्द्रमा निर्वाचन प्रहरीले मात्र अपुग हुने बताउदै एसपी न्यौपानेले मतदान केन्द्रको संख्या र त्यसको संवेदनशिलतालाई हेरेर थप प्रहरी खटाउने गरी अपुग प्रहरीको माग गरिएको बताए । मतदान प्रक्रियालाई शान्तिपूर्ण र प्रभावकारी बनाउन प्रहरीले आवश्यक समन्वय र तयारी गरिहेको उनले बताए ।
त्यसैगरी शसस्त्र प्रहरीले समेत स्याङ्जा क्षेत्र नं.–१ को पुतलीबजार र क्षेत्र नं.–२ को गल्याङमा आफ्नो टोली तयारी अवस्थामा राखेको जनाएको छ । पालिकाहरुमा मोवाईल तथा र स्कटिङ्ग टोली खटाउने तयारी गरिएको शसस्त्र प्रहरी नायव उपरीक्षक कुमार तिमिल्सिनाले जानाकारी दिए । शसस्त्र प्रहरी बल मातहतका १८९ निर्वाचन प्रहरी समेत सोही टोलीसँग राखेर काममा खटाउने उनले जानकारी दिए ।
उता नेपाली सेनाले समेत हरेक पालिकामा आफ्नो सुरक्षा टोलीलाई क्याम्प बनाउन निर्देशन दिएरै सेनाको टोली खटाउने तयारी गरिएको छ । निर्वाचनलाई मर्यादित, निष्पक्ष र शान्तिपुर्ण बनाउने उद्देश्य सहित दोस्रो चरणमा जिल्ला निर्वाचन सुरक्षा समितिले मतदान स्थलको आवश्यकता अनुसार गरेको सिफारिसका आधारमा सुरक्षाकर्मी खटाउने तयारी गरिएको सेनाले जनाएको छ ।






सम्बन्धित खवर















