२० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित मनोज गुरुङको संकल्प : पोखरालाई ‘दीगो पर्यटनको राजधानी’ बनाउने योजना

पोखरा। कास्की क्षेत्र नं ३ का कांग्रेस उम्मेद्वार मनोज गुरुङले पोखराको पर्यटन प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राख्दै ठोस योजना सार्वजनिक गरेका छन्।
उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित व्यवसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालन गरी वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको बताएका छन्।
यसका लागि अन्तर्राष्ट्रिय एयरलाइन्ससँग समन्वय, पर्यटन प्रवर्द्धनका विशेष कार्यक्रम र निजी क्षेत्रसँग सहकार्य गरिने उनको भनाइ छ। विमानस्थल सञ्चालन भएको दुई वर्ष पूरा भइसक्दासमेत नियमित व्यवसायिक उडान हुन नसकेको अवस्थालाई उनले चुनावी संकल्पको प्रमुख मुद्दा बनाएका छन्।
उम्मेद्वार गुरुङका अनुसार विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आएपछि पोखराको पर्यटन उद्योगमा नयाँ ऊर्जा थपिनेछ। होटल, रेस्टुरेन्ट, यातायात, ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रमा रोजगारीका अवसर विस्तार हुने विश्वास उनले व्यक्त गरे।
उनले यसले स्थानीय युवालाई आफ्नै ठाउँमा रोजगारी दिलाउने मात्र नभई विदेशी मुद्रा आर्जनमा समेत उल्लेखनीय योगदान पुग्ने बताए।
गुरुङले पोखरालाई प्राकृतिक सौन्दर्य, धार्मिक सहिष्णुता र दीगो पर्यटनको राजधानीका रूपमा विकास गर्ने योजना अघि सारेका छन्। वातावरण संरक्षण, स्थानीय संस्कृति प्रवर्द्धन र व्यवस्थित पर्यटन विकासमार्फत पोखरालाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित उनले मतदातासँग समर्थन मागेका छन्।
मतदाता भेटघाट तीव्र
उम्मेद्वार गुरुङले आफ्नो निर्वाचन क्षेत्रमा मतदाता भेटघाट अभियानलाई तीव्र बनाएका छन्। सोमबारदेखि पोखरा क्षेत्रमा केन्द्रित रहेका उनले बुधबारसम्म वडा नं १, २ र ३ मा कार्यक्रम सम्पन्न गरिसकेका छन्। शुक्रबार कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न स्थानमा घरदैलो कार्यक्रम सकी शनिबार पोखरा–१९ मा अभियान केन्द्रित रहे ।
उनले कांग्रेस अब सच्चिएर अघि बढेको दाबी गर्दै विगतका कमजोरीबाट पाठ सिकेर पार्टी रूपान्तरणको बाटोमा हिँडेको उल्लेख गरे। “रूपान्तरित कांग्रेस” ले जनताको चाहना र समयको मागअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र सुशासनलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको स्पष्ट पारे।
‘जनप्रतिनिधि भएपछि निष्पक्ष र इमान्दार ढंगले काम गर्ने, सार्वजनिक स्रोत–साधनको दुरुपयोग हुन नदिने तथा निर्णय प्रक्रियामा पारदर्शिता कायम गर्नेछौँ,’ उनले भने।
स्थानीयले विकास, रोजगारी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत विषयमा चासो राखेका थिए। ती सबै मुद्दालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता गुरुङले व्यक्त गरे।
यसैबीच, समानुपातिक उम्मेद्वार आइबहादुर नेपालीले दलित, उत्पीडित र जनजाति समुदायको अधिकार सुनिश्चिततामा कांग्रेसको भूमिका अग्रणी रहेको दाबी गरे। स्थानीय तहका वडा–वडामा दलित प्रतिनिधित्वको कानूनी व्यवस्था कांग्रेसकै पहलमा सम्भव भएको उनको भनाइ छ।







सम्बन्धित खवर















