‘भूमिहीनलाई न्याय, शहरलाई व्यवस्थापन’ — कास्की–३ मा मनोज गुरुङको दिगो समाधानको प्रतिबद्धता

पोखरा। प्रतिनिधिसभा निर्वाचन कास्की क्षेत्र नं ३ का कांग्रेस उम्मेद्वार मनोज गुरुङ ले भूमिहीन तथा अव्यवस्थित बसोबासीका समस्या न्यायोचित र दिगो रूपमा समाधान गर्न नयाँ नीति ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
पोखरा–५ मा शनिबार आयोजित कोणसभामा बोल्दै उनले अव्यवस्थित बसोबासको दीर्घकालीन समाधानका लागि स्पष्ट योजना आवश्यक रहेको औंल्याए। “अव्यवस्थित बसोबासले शहरको सौन्दर्य मात्र होइन, समग्र व्यवस्थापनमै चुनौती थपेको छ,” उनले भने, “यसलाई व्यवस्थित, सुरक्षित र दिगो बनाउने गरी ठोस नीति ल्याइनेछ।”
गुरुङले जनताको वास्तविक समस्या पहिचान नगरी प्रभावकारी नीति निर्माण सम्भव नहुने उल्लेख गर्दै आधारभूत सेवामा व्यापक सुधार ल्याउने योजना सार्वजनिक गरे। सडक विस्तार तथा स्तरोन्नति, ढल व्यवस्थापन, शुद्ध खानेपानी आपूर्ति, गुणस्तरीय शिक्षा र सुलभ स्वास्थ्य सेवामा सुधारलाई प्राथमिकतामा राखिने उनले बताए।
उनका अनुसार प्रस्तावित योजनाले नगरपालिकाभित्र देखिएका संरचनागत कमजोरीलाई सुदृढ बनाउँदै नागरिकको जीवनस्तर उकास्ने लक्ष्य राखेको छ। “समृद्ध शहर निर्माणको आधार सामाजिक न्याय र व्यवस्थित विकास हो,” उनले जोड दिए।
कार्यक्रममा कास्की कांग्रेसका सभापति किशोरदत्त बराल ले बदलिएको कांग्रेसले देशलाई पनि परिवर्तनको दिशामा अघि बढाउने दाबी गरे। उनले नेपाली कांग्रेस अहिले संगठन सुदृढीकरण, कार्यकर्ताको मनोबल उच्च बनाउने तथा जनताको भरोसा पुनःस्थापित गर्ने अभियानमा सक्रिय रहेको बताए।
“कांग्रेस सत्ताका लागि मात्र होइन, लोकतान्त्रिक प्रणालीको रक्षा र संस्थागत विकासका लागि निरन्तर संघर्षरत पार्टी हो,” बरालले भने। पार्टीभित्र देखिने बहस र मतभेदलाई स्वाभाविक लोकतान्त्रिक प्रक्रिया भएको उल्लेख गर्दै उनले एकताबद्ध भएर निर्वाचनमा होमिएको स्पष्ट पारे।
वडा कार्यमिति सभापति प्रकाश कोइराला को सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य विजयलक्ष्मी कोइराला, नेता पुरुषोत्तम प्रसाद पराजुली र प्रयास कोइराला ले पनि धारणा राखेका थिए।
यसैबीच उम्मेद्वार गुरुङसहितको टोलीले शनिबार पोखरा–१९ का विभिन्न क्षेत्रमा घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट गरेको छ।







सम्बन्धित खवर















