पर्यटकीय राजधानी पोखरालाई ‘व्यवस्थित सहर’ बनाउने कास्की क्षेत्र-२ का उम्मेदवार बास्तोलाको प्रतिबद्धता

पोखरा, ९ फागुन। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि माधवप्रसाद बास्तोला (मधु) ले पर्यटकीय राजधानी पोखरालाई व्यवस्थित, सुशासित र दिगो सहरको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाली काँग्रेस का तर्फबाट कास्की निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार बास्तोलाले शनिबार पोखरा–१७ को ड्यामसाइड क्षेत्रमा घरदैलो कार्यक्रमका क्रममा आयोजित कोणसभालाई सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन्।
उनले पोखरामा पर्यटनको सुरुवाती चरणमा ड्यामसाइड क्षेत्र विशेष चर्चित रहेको स्मरण गराउँदै पछिल्लो समय यो क्षेत्र ओझेलमा परेको बताए। “फेवाताल मा माछापुच्छ्रे को छायाँ स्पष्ट देखिने ड्यामसाइडलाई पुनः अन्तर्राष्ट्रिय प्रचारप्रसारमार्फत चिनाउन आवश्यक छ,” उनले भने।
बास्तोलाले गुप्तेश्वर गुफा र पातले छाँगो लाई थप पूर्वाधार र व्यवस्थापनमार्फत नयाँ पर्यटकीय आकर्षणका रूपमा विकास गर्ने योजना सार्वजनिक गरे।
अव्यवस्थित बस्ती व्यवस्थापन र रोजगारीमा जोड
उम्मेदवार बास्तोलाले पोखरा–१७ को हनुमान टोलस्थित अव्यवस्थित बस्तीलाई योजनाबद्ध ढंगले व्यवस्थित गर्ने र स्थानीयका लागि आयआर्जनका अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले बेलघारी, छोरेपाटन, पार्दी, ड्यामसाइड, घारिपाटन, रातोपहिरो, राममन्दिर, मुस्ताङचोक लगायतका क्षेत्रमा घरदैलो कार्यक्रम गर्दै मतदाताका सुझाव संकलन गरेका थिए।
सुशासन र भ्रष्टाचारविरुद्ध कडा अडान
हनुमान टोलमा आयोजित चुनावी कोणसभामा बोल्दै बास्तोलाले आफू सधैं सुशासनको पक्षमा उभिने र भ्रष्टाचारविरुद्ध कडा आवाज उठाउने बताए। “बदलिएको नेपाली काँग्रेस अब देश बदल्ने अभियानमा अघि बढेको छ,” उनले भने, “सदनमा सुशासन र पारदर्शिताका पक्षमा सशक्त आवाज उठाउनेछु।”
उनले मतदाताको शिर झुक्ने काम आफूले कहिल्यै नगर्ने प्रतिबद्धता दोहोर्याए।
घरदैलो कार्यक्रममा पार्टीका नेता गुरु बराल, सोभियत बहादुर अधिकारी, वीरेन्द्रनारायण विजुक्छे, ऋषि काफ्ले, केशर निर्दोषी लगायत स्थानीय नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।







सम्बन्धित खवर















