0Shares

स्याङ्जा, ११ फागुन । स्याङ्जामा राजनीतिक सरगर्मी बढिरहेका बेला विभिन्न दलसँग आबद्ध युवाहरूको एक समूह नेपाली काँग्रेस मा प्रवेश गरेको छ। पुतलीबजार नगरपालिका–१३ लाम्पाटा, तोरिखोला लगायतका क्षेत्रका एक दर्जन युवाले औपचारिक रूपमा काँग्रेसको सदस्यता ग्रहण गर्दै पार्टीप्रति आफ्नो प्रतिबद्धता जनाएका हुन्।

नवप्रवेशी युवाहरूले “सबैलाई जोड्ने र सबै अट्ने शक्ति” का रूपमा काँग्रेसलाई रोजेको बताएका छन्। उनीहरूले अन्य दलको तुलनामा काँग्रेसलाई लोकतान्त्रिक मूल्य–मान्यता बोकेको जिम्मेवार पार्टीका रूपमा चित्रण गर्दै पार्टीले अंगिकार गरेको नीति, विचार र समावेशी दृष्टिकोणबाट आफूहरू प्रभावित भएको प्रतिक्रिया दिएका छन्। पछिल्लो समय देशमा बढ्दै गएको अनैतिकता र अराजकताप्रति चिन्ता व्यक्त गर्दै उनीहरूले स्थिरता, विकास र उत्तरदायित्वको राजनीति आवश्यक रहेको धारणा राखे।

काँग्रेस प्रवेश गर्नेहरूमा विशाल वि.क., सुनिल वि.क., अभिशेख वि.क., सुजन सुनार, समिर वि.क., सुमन सुनार र दिवस सुनार चदरा लगायत रहेका छन्। उनीहरूलाई काँग्रेस स्याङ्जाका सभापति राजु थापा तथा जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जि.टीले सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका थिए।

नवप्रवेशी युवाहरूलाई स्वागत गर्दै सभापति थापाले विगतमा अधिकार प्राप्तिका आन्दोलनमा केन्द्रित रहेको काँग्रेस अब आर्थिक समृद्धि र रोजगारी सृजनामा केन्द्रित भएको बताए। “अबको काँग्रेस आर्थिक विकासको काँग्रेस हो,” उनले भने, “पढेका र सीप भएका युवालाई रोजगारीसँग जोड्ने, आर्थिक अभावका कारण अध्ययनबाट वञ्चित युवायुवतीलाई स्वरोजगारतर्फ उन्मुख गराउने हाम्रो प्राथमिकता हो।”

कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य तथा जनजाति संघका नेता नेमबहादुर राना, काँग्रेस स्याङ्जाका सह–सचिव धुर्वबन्धु पौडेल, अर्जुनचौपारी गाउँपालिका–५ का वडाध्यक्ष बद्रिप्रसाद पौडेल, क्षेत्र नं.–१ प्रदेश नं.–१ का सभापति धुर्वबिक्रम खाँण र कानून व्यवसायी हरिप्रसाद रेग्मीले पनि नवप्रवेशी युवाहरूलाई स्वागत गर्दै पार्टी सुदृढीकरणमा युवाहरूको भूमिका महत्वपूर्ण हुने बताएका थिए।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected