
|
पोखरा। आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस कास्की, चुनाव प्रचार प्रसार समिति अन्तर्गत महिला परिचालन उप-समितिको वृहत् भेला पोखरामा सम्पन्न भएको छ। कास्की जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा चुनावी प्रचार–प्रसार अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित भेलाले फागुन १५ गते पोखरामा हुने आमसभा तथा फागुन २१ गते हुने आमनिर्वाचनलाई केन्द्रमा राखेर रणनीतिक तयारी अघि बढाएको हो । महिला नेतृ लक्ष्मी पाण्डे संयोजक रहेको महिला परिचालन समितिको आयोजनामा सम्पन्न भेलामा कार्यकर्ताहरूलाई संगठित र सक्रिय रूपमा चुनावी अभियानमा खटिने निर्देशन दिइएको थियो। कार्यक्रममा वक्ताहरूले आगामी निर्वाचनलाई राजनीतिक स्थिरता, विकास र सुशासनसँग जोड्दै नेपाली कांग्रेस का उम्मेदवारहरूको विजय अपरिहार्य रहेको धारणा व्यक्त गरे। कास्की क्षेत्र नम्बर १ मा तिलक रानाभाट, क्षेत्र नम्बर २ मा माधवप्रसाद बास्तोला र क्षेत्र नम्बर ३ मा मनोज गुरुङलाई विजयी गराउने लक्ष्यसहित महिला संघले घर–घर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। भेलामा सहभागी महिला नेतृ तथा कार्यकर्ताहरूले प्रत्येक टोल र बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्ने, कांग्रेसका नीति–कार्यक्रम र उपलब्धिहरूको जानकारी गराउने तथा जनमत सृजना गर्ने प्रतिबद्धता जनाए। भेलालाई सम्बोधन गर्दै कांग्रेस गण्डकी प्रदेशका सह–महामन्त्री कोपिला रानाभाटले देशको वर्तमान राजनीतिक परिस्थितिमा लोकतान्त्रिक मूल्य–मान्यता जोगाउन कांग्रेसको विजय आवश्यक रहेको बताइन्। उनले महिला अधिकार, समानता र सशक्तीकरणका क्षेत्रमा कांग्रेसले विगतदेखि नै अग्रणी भूमिका खेलेको उल्लेख गर्दै महिलाहरूको सक्रिय सहभागिता बिना चुनावी सफलता सम्भव नहुने धारणा राखिन्। उनले भनिन्, “महिलाको हकहितका लागि कांग्रेसले नीति र व्यवहार दुवै तहमा काम गरेको छ। अबको निर्वाचनमा महिलाहरू एकजुट भएर कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन अगाडि बढ्नुपर्छ।” त्यसैगरी कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले तीनै जना उम्मेदवारको राजनीतिक अनुभव, जनतासँगको निकटता र विकासप्रतिको प्रतिबद्धताको चर्चा गर्दै उनीहरूको जित कास्कीको समग्र विकासका लागि आवश्यक रहेको बताए। उनले महिला संघका कार्यकर्ताहरूलाई संगठित रूपमा परिचालित भई चुनावी अभियानलाई सशक्त बनाउन आग्रह गरे। भेलामा गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले निर्वाचनमा महिलाहरुको सक्रिय र निर्णायक भूमिका आवश्यक रहेको बताइन्। उनले कांग्रेसको बिकल्प कांग्रेस, लोकतन्त्रको बिकल्प लोकतन्त्र भएको उल्लेख गर्दै देशको विकास गर्ने कांग्रेस रहेको कुरामा जोड दिएकी थिइन्। कार्यक्रमको अध्यक्षता गरेकी संयोजक लक्ष्मी पाण्डेले निर्वाचन सम्पन्न नहुँदासम्म निरन्तर अभियान सञ्चालन गरिने जानकारी दिँदै महिला संघ कास्कीले टोल–टोलमा भेला, अन्तरक्रिया तथा जनसंपर्क कार्यक्रमलाई तीव्रता दिने बताइन्। महिलाहरूको एकता, अनुशासन र सक्रियताले तीनै क्षेत्रमा कांग्रेसको जित सुनिश्चित हुने उनको विश्वास थियो। महिला नेतृ शान्ति खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा महिला नेतृ कोपिला तिवारीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्। कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सह-सचिव एवम् पाटी प्रवक्ता नविन सिग्देल, नेपाल महिला संघ कास्कीकी सभापति मिना पाण्डे लगायत शारदा गिरी, रंगिला आचार्य, गायत्री पराजुली, राधा गौतम, शोभा विक, सुजिता तामाङ, मेनुका पौडेल, शान्ता दवाडी, विष्णु भण्डारी, सीता भुजेल, अप्सरा श्रेष्ठ, इन्द्रमाया बनियाँ, डाल्डा देवी भुजेल, तीर्थकुमारी गुरुङलगायतका नेतृहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी सबैले आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारको पक्षमा संगठित रूपमा लाग्ने सामूहिक संकल्प व्यक्त गरेका छन्। भेलाले महिला शक्ति नै निर्वाचन जित्ने मुख्य आधार भएको निष्कर्ष निकाल्दै कास्कीका तीनवटै क्षेत्रमा कांग्रेसको पक्षमा बलियो जनलहर सिर्जना गर्ने अठोट व्यक्त गरेको छ।
|






सम्बन्धित खवर
















