पोखरा। कास्की क्षेत्र नं ३ का कांग्रेस उम्मेद्वार मनोज गुरुङले राजनीतिक भाषणमा मात्र सीमित नभई व्यवहारमै समाजसँग जोडिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। निर्वाचन प्रचारअन्तर्गत सोमबार पोखरा–५ मा आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले जनताको विश्वास जित्ने लक्ष्यका साथ आफू चुनावी मैदानमा उत्रिएको बताए।
उनले मतदाताको समर्थनसहित विजयी बन्ने आकांक्षा व्यक्त गर्दै समुन्नत र सुशासनयुक्त नेपाल निर्माणमा आफू र कांग्रेस पार्टी दृढतापूर्वक लाग्ने स्पष्ट पारे। “जनताको आवाज सुन्ने, उनीहरूको समस्यालाई नजिकबाट बुझ्ने र व्यवहारिक समाधान खोज्ने काम नै मेरो प्राथमिकता हो,” उनले भने। गुरुङले कास्की–३ को समग्र विकासलाई केन्द्रीय एजेन्डा बनाउने संकल्प दोहोर्याए। पूर्वाधार विकासअन्तर्गत सडक सञ्जाल विस्तार, खानेपानी तथा सिँचाइ व्यवस्थामा सुधारलाई प्राथमिकतामा राखिएको उनले बताए।
शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर अभिवृद्धि गर्दै विद्यालय र स्वास्थ्य संस्थालाई थप प्रभावकारी बनाउने योजना पनि उनले सार्वजनिक गरे। रोजगारी सिर्जनाका लागि स्थानीय उत्पादन प्रवर्द्धन, साना उद्योग विस्तार र उद्यमशीलतालाई प्रोत्साहन गर्ने उनको लक्ष्य छ। सीपमूलक तालिममार्फत युवालाई प्रविधिसँग जोड्ने पहल गर्ने उनको अठोट छ।
समानुपातिकतर्फका उम्मेद्वार आइबहादुर गुरुङले समयअनुसार कांग्रेसलाई थप जनमुखी बनाउँदै युवाको सहभागिता बढाउनुपर्ने आवश्यकता औंल्याए। स्थानीय तहसँग समन्वय सुदृढ गर्दै नीतिगत स्पष्टता ल्याउनुपर्ने उनले धारणा राखे। उनले शिक्षा, स्वास्थ्य, रोजगारी र सार्वजनिक सेवा सुधारलाई आगामी निर्वाचनको प्राथमिक एजेन्डा बनाइएको बताए।
कांग्रेस नेता रामजीप्रसाद कोइरालाले पार्टीभित्रको आन्तरिक एकता सुदृढ गर्दै तल्लो तहसम्म संगठन विस्तार गर्न सके मात्र आगामी निर्वाचनमा जनविश्वास जित्न सकिने बताए। नेता पुरुषोत्तम प्रसाद पराजुलीले कांग्रेसको ऐतिहासिक योगदान स्मरण गराउँदै लोकतन्त्र, मानवअधिकार र समावेशिताका पक्षमा पार्टी सधैँ अग्रपंक्तिमा उभिएको दाबी गरे। जनताका दैनन्दिन समस्यामा केन्द्रित कार्यक्रममार्फत विश्वास पुनःस्थापित गर्नुपर्नेमा उनले जोड दिए। कार्यक्रममा वक्ताहरूले जिम्मेवार राजनीति, पारदर्शिता र जवाफदेहितामार्फत कांग्रेसलाई बलियो राष्ट्रिय शक्ति बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।






















