ठूलीस्वाँराको कच्ची सडक कालोपत्रे गर्ने एकमात्र माग, उम्मेदवार बास्तोलासँग स्थानीयको स्पष्ट सन्देश

पोखरा। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसका तर्फबाट कास्की क्षेत्र नं. २ का उम्मेदवार माधवप्रसाद बास्तोला (मधु) समक्ष पोखरा–२१ स्थित ठूलीस्वाँरावासीले आफ्नो एकमात्र प्राथमिक माग स्पष्ट रूपमा राखेका छन्—दुई किलोमिटर कच्ची सडक कालोपत्रे।
सोमबार बिहान मत माग्दै ठूलीस्वाँरा पुगेका उम्मेदवार बास्तोलासँग स्थानीयले पोखरा–२१ को मैदानदेखि ठूलीस्वाँरासम्म जोड्ने करिब दुई किलोमिटर सडक तत्काल कालोपत्रे गरिदिन आग्रह गरेका हुन्। उक्त बस्तीमा रानामगर समुदायका करिब २५ घरपरिवार बसोबास गर्दै आएका छन्।
स्थानीय नरबहादुर रानामगरका अनुसार सडक खनेको झण्डै एक दशक बितिसक्दा पनि कालोपत्रे हुन सकेको छैन। “तीन–तीन पटक नेताहरू भोट माग्न आए, तर कसैले काम गरिदिएनन्,” उनले भने, “हाम्रो माग ठूलो होइन। दुई किलोमिटर सडक कालोपत्रे गर्न धेरै खर्च लाग्दैन। नेताहरूले चाहे अहिले नै हुन्छ। यसपटक भोट दिन्छौँ, अर्को वर्ष सडक कालोपत्रे हुनुपर्छ।”
स्थानीयको गुनासो सुनेपछि उम्मेदवार बास्तोलाले माग अस्वाभाविक नभएको स्वीकार गर्दै आफू निर्वाचित भए पहल गर्ने आश्वासन दिए। विषम परिस्थितिमा हुन लागेको निर्वाचन महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले आफ्नो पक्षमा मत दिन आग्रह गरे।
उनले काँग्रेसले आत्मसमीक्षा गर्दै युवालाई नेतृत्वमा अघि सारेको र देश परिवर्तनको योजनासहित अघि बढिरहेको दाबी गरे। राणाकालदेखि प्रजातन्त्रका लागि संघर्षरत काँग्रेसको इतिहास उल्लेख गर्दै उनले वर्तमान संविधान संशोधनमार्फत स्थिर सरकार गठन सम्भव हुने धारणा पनि राखे।
यसैक्रममा पोखरा–२१ को अभियान टोलमा आयोजित चुनावी कोणसभामा बोल्दै बास्तोलाले मतदातालाई विवेकपूर्ण निर्णय गर्न आग्रह गरे। देश कठिन मोडमा रहेको उल्लेख गर्दै उनले काँग्रेस नै देशलाई सही दिशामा लैजान सक्षम पार्टी भएको दाबी दोहोर्याए।
सोमबार नै चापाचौर र चिलाउने खर्क क्षेत्रमा पुगेर उनले घरदैलो कार्यक्रममार्फत मत माग्नुका साथै स्थानीयका सुझाव संकलन गरेका थिए। घरदैलोका क्रममा सडक, खानेपानी, सिँचाइ, पुल, शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि क्षेत्रका समस्या प्रमुख रूपमा उठेका थिए।
आजै लामाखेत, मैदान, फोक्सिङ र नाच्नेचौर क्षेत्रमा समेत घरदैलो कार्यक्रम सम्पन्न गरिएको काँग्रेस नेता ऋषि काफ्लेले जानकारी दिए। कार्यक्रममा सोभियत बहादुर अधिकारी, वीरेन्द्रनारायण विजुक्छे, विन्दुकुमार थापा, केशर निर्दोषी, विजय आचार्य, लालीमाया रेग्मी, मुकुन्द बास्तोला, केवल गिरी, प्राडा रामचन्द्र पोखरेललगायत नेताहरूको सहभागिता रहेको थियो।






सम्बन्धित खवर













