
पोखरा । कास्की क्षेत्र नं. ३ का नेपाली कांग्रेस उम्मेद्वार मनोज गुरुङले आफ्नो निर्वाचन क्षेत्रमा पाँच वर्षभित्र सबै वडा कार्यालयसम्म पक्की सडक पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
चुनावी घरदैलो अभियानका क्रममा मतदातासँगको अन्तरक्रियामा गुरुङले वडा कार्यालय जोड्ने सडक सञ्जाललाई पहिलो प्राथमिकतामा राख्ने स्पष्ट पारे। सांसदको भूमिका मुख्यतः नीति निर्माणमा केन्द्रित हुने उल्लेख गर्दै उनले क्षेत्रको पूर्वाधार विकासका लागि संसदबाटै विशेष पैरवी गर्ने बताए।
‘हाम्रो क्षेत्रका ३१ वटै वडाका केन्द्रसम्म कालोपत्रे वा ढलान सडक पुर्याउनु मेरो मुख्य लक्ष्य हो,’ गुरुङले भने, ‘निर्वाचित भएपछि पाँच वर्षभित्र सबै वडा कार्यालयमा पक्की सडक पुग्ने गरी नीतिगत व्यवस्था र बजेट विनियोजनका लागि म निरन्तर लाग्नेछु।’
कास्की–३ अन्तर्गत ३१ वटा वडा पर्दछन्। सबै वडामा सडकको ट्र्याक खुले पनि अझै पूर्ण रूपमा स्तरोन्नति हुन सकेको छैन। अन्नपूर्ण गाउँपालिका का अधिकांश वडा तथा माछापुच्छ्रे गाउँपालिका का चार वडामा हालसम्म पक्की सडक पुग्न सकेको छैन।
संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी सडक कालोपत्रे तथा ढलान गर्ने योजना अघि सार्दै उनले ती क्षेत्रहरूमा बाह्रै महिना सहज आवागमन सुनिश्चित गर्ने लक्ष्य राखेको बताए।
‘हामी सांसदका लागि चुनाव लड्दैछौँ। मैले प्रत्यक्ष विकास गर्छु भन्ने होइन, विकासका लागि नीति बनाउने र स्रोत सुनिश्चित गर्ने हो,’ उनले स्पष्ट पारे। उनले थपे, ‘जनताका आफ्ना प्रतिनिधिसँग विकाससम्बन्धी अपेक्षा हुन्छन्। ती अपेक्षालाई सम्बोधन गर्न म नीतिगत रूपमा दृढ पैरवी गर्नेछु।’
गुरुङले विशेषगरी ग्रामीण भेगका सडक वर्षायाममा हिलाम्मे हुँदा एम्बुलेन्ससमेत गुड्न नसक्ने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाए।
‘गाउँका बिरामीलाई अस्पताल लैजाँदा बाटोमै एम्बुलेन्स फस्ने अवस्था अन्त्य हुनुपर्छ। त्यसका लागि बाह्रै महिना चल्ने सडक निर्माणमा सम्बन्धित निकायमा निरन्तर दबाब दिनेछु,’ उनले भने।
लामो समय समाजसेवामा सक्रिय रहेर पहिलोपटक संसदीय राजनीतिमा प्रवेश गरेका गुरुङले आफू निर्वाचित भएपछि पार्टीगत पूर्वाग्रह नराख्ने स्पष्ट पारे। यसअघि सुरु भएका तर अधुरा रहेका योजनालाई पनि निरन्तरता दिँदै पूरा गर्ने उनले प्रतिबद्धता जनाए। ‘जसले सुरु गरेको भए पनि योजना यही भूगोल र यहाँका जनताका लागि हुन्। विकासमा राजनीति गर्नुहुँदैन,’ गुरुङले भने, ‘अधुरा र अपुरा रहेका सबै योजनाको जिम्मा म लिन्छु। आवश्यकता र प्राथमिकताका आधारमा तिनलाई पूर्णता दिने दायित्व मेरो हुनेछ।’
स्थानीय माग र आवश्यकताका आधारमा विकास आयोजना छनोट र कार्यान्वयन गरिने उनको भनाइ छ। कतिपय योजनामा संरक्षण क्षेत्रका कारण अवरोध सिर्जना भएको उल्लेख गर्दै उनले ती समस्या समाधानका लागि संसद र सरकारको ध्यानाकर्षण गराउने बताए।
कास्की–३ को ठूलो भूभाग अन्नपूर्ण संरक्षण क्षेत्र भित्र पर्दछ। संरक्षणसम्बन्धी प्रावधानका कारण धेरै सडक फराकिला बनाउन कठिनाइ भएको स्थानीयको गुनासो छ। चुनावी प्रचार अभियानका क्रममा गुरुङलाई अधिकांश स्थानमा मतदाताले स्वागत गर्दै जितको शुभकामना दिएका छन्। समाजसेवा हुँदै राजनीतिमा आएका गुरुङ कास्की–३ मा बलिया उम्मेद्वारका रूपमा चर्चामा छन्।






सम्बन्धित खवर













