कास्की–३ मा उम्मेदवारसँग प्रत्यक्ष संवाद : जनताको प्रश्नमा प्रतिबद्धताको परीक्षा

0Shares
पोखरा । जनताको प्रश्न र उम्मेदवारको प्रतिबद्धताबीच सजीव बहस हुने उद्देश्यले शनिबार पोखरामा प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूसँग प्रत्यक्ष संवाद कार्यक्रम सम्पन्न भएको छ। शनिवार पोखरा लेडी जेसिजको आयोजनामा पोखरा–५, प्रस्याङस्थित ताजमहल पार्टी प्यालेसको सभाहलमा कास्की क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य (प्रत्यक्ष) तर्फका उम्मेदवारहरूसँग खुला संवाद एवं ककस कार्यक्रम गरिएको हो। कार्यक्रममा करिब ३०० भन्दा बढी क्षेत्र नं. ३ का नागरिकहरूको उपस्थिति रहेको थियो।
पोखरा लेडी जेसिजका अध्यक्ष जेसि सुनिता गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण पोखराका पत्रकार तथा एभरेस्ट एफएमका म्यानेजिङ डाइरेक्टर दिपेन्द्र श्रेष्ठले गरेका थिए। कार्यक्रमको संयोजकत्व तथा सञ्चालन जेसि रेजिना कटुवालले सम्हालेकी थिइन्।

कार्यक्रममा विभिन्न राजनीतिक दलका उम्मेदवारहरू नेकपा एमालेका दामोदर पौडेल बैरागी, राष्ट्रिय स्वतन्त्र पार्टीका बिना गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्जुन प्रसाद खनाल, आम जनता पार्टीका कुशल थापा क्षेत्री, नेपाली कम्युनिस्ट पार्टीका गोपाल गिरी, संयुक्त नागरिक पार्टीका टेकबहादुर सार्की, श्रम संस्कृति पार्टीका हितकाजी गुरुङ, उज्यालो नेपाल पार्टीका उम्मेदवार तर्कबहादुर गुरुङ लगायत प्रत्यक्ष रुपमा संवादमा संलग्न भएका थिए । उम्मेदवारहरूले आफ्ना एजेन्डा, प्रतिबद्धता र योजनाहरू जनतासामु प्रत्यक्ष रूपमा राख्ने अवसर पाएका थिए ।
तीन चरणमा विभाजन गरी सञ्चालन गरिएको कार्यक्रम पहिलो चरण : एजेन्डा प्रस्तुतिका लागि प्रत्येक उम्मेदवारलाई पाँच–पाँच मिनेट समय प्रदान गर्दै आफ्नो परिचय, घोषणापत्र, प्रतिबद्धतापत्र र करारपत्रका मुख्य बुँदाहरू प्रस्तुत गर्न अवसर दिइयो। उम्मेदवारहरूले शिक्षा, स्वास्थ्य, पूर्वाधार, सहकारी, सञ्चार तथा रोजगारी सिर्जना जस्ता विषयलाई प्राथमिकतामा राख्दै आफ्नो योजना सार्वजनिक गरेका थिए ।
त्यस्तै दोस्रो चरण : खुला प्रश्नोत्तरमा फ्लोर खुला गर्दै मतदाताहरूसँग प्रत्यक्ष दोहोरो संवाद सञ्चालन गरियो। नागरिकहरूले सहकारी समस्या, शिक्षा र स्वास्थ्य सेवाको पहुँच, सुशासन, रोजगारी, सञ्चार पहुँच लगायतका विषयमा स्पष्ट धारणा र कार्ययोजना माग गरेका थिए । उम्मेदवारहरूले जनचासोका मुद्दामा आफ्नो दृष्टिकोण र समाधानका प्रस्तावहरू राखेका थिए ।
यसैगरी कार्यक्रमको तेस्रो चरणमा ‘र्यापिड राउन्ड’ सञ्चालन गरियो, जहाँ उम्मेदवारहरूलाई ‘हुन्छ/हुँदैन’, ‘गर्छु/गर्दिन’, ‘सक्छु/सक्दिन’ जस्ता छोटो र स्पष्ट उत्तर आउने प्रकारका अब्जेक्टिभ प्रश्नहरू सोधिए। यसले उम्मेदवारहरूको प्रतिबद्धता स्पष्ट र प्रत्यक्ष रूपमा अभिव्यक्त गराएको सहभागीहरूको प्रतिक्रिया थियो।

“प्रश्न गर्नु जनताको नैसर्गिक अधिकार हो” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको अध्यक्ष गौतमले बताइन्। उनले देश शासन विधिले चल्नुपर्छ र चलाइनुपर्छ भन्ने सन्देश दिँदै समाजको आवश्यकता अनुसार आगामी दिनमा पनि यस्ता जनसंवादी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
उक्त संवाद कार्यक्रम लोकतान्त्रिक अभ्यासको सशक्त नमूना बनेको सहभागीहरूको भनाइ छ। चुनावी प्रतिस्पर्धाभन्दा माथि उठेर जनताको प्रश्नमा केन्द्रित बहसले मतदातालाई सचेत निर्णय लिन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। यस प्रकारका खुला संवादले उम्मेदवारलाई जवाफदेही बनाउने र जनताको अपेक्षालाई प्रत्यक्ष रूपमा सुन्ने अवसर प्रदान गर्ने भएकाले यसलाई लोकतान्त्रिक संस्कृतिको सकारात्मक अभ्यासका रूपमा लिइएको छ।
0Shares






© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर













