अर्मलाकोट र हरिपाँउ पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उम्मेदवार बास्तोलाको प्रतिवद्धता

पोखरा, १३ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसको तर्फबाट कास्की क्षेत्र नं २ उम्मेदवार माधवप्रसाद बास्तोला (मधु) ले पोखरा–१६ को अर्मला कोट, हरिपाँउ, ढिँकीडाँडा र जोगिमणिलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
उम्मेदवार बास्तोलाले आज (बुधबार) पोखरा–१६ मा घरदैलो कार्यक्रम गर्दै ति स्थानलाई पर्यटकीय रुपमा विकास गर्नु पर्ने कुरामा जोड दिएका हुन् । अत्यन्तै रमणीय यि स्थानबाट पोखरा बजार र अन्नपूर्ण हिम श्रृंखला दृष्यावलोकन गर्न सकिने हरिपाँउ ढिंकीडाँडा र अर्मला कोटलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकियो भने स्थानीय रुपमा आर्थिक समृद्धिकका साथै यहाँका युवाले रोजगारीको अवसर प्राप्त गर्न सक्ने भनाइ उनको छ ।
घरदैलो गर्ने क्रममा अर्मलाको ¥याले पात्लेमा आयोजित कोण सभामा बोल्दै उम्मेदवार बास्तोलाले रोजगारीका लागि युवा विदेश जाँदा गाउँमा बुढाबुढी र खेतबारी बाँझै भएकाले गाउँ उराठ भएका छन्, पर्यटन र व्यवसायिक कृषिका विकास, गाउँमा पुग्ने सडक, खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्य र संचारको विकास गर्न सक्यौ भने गाउँको मुहार फेर्न सकिने भनाइ उनको छ ।
घरदैलोकै क्रममा पोखरा–१६ कै घट्टेकुनामा आयोजित चुनावी कोण सभामा बोल्दै उम्मेदबार बास्तोलाले सुशासन र जेनजीका माग पूरा गर्न नै आफ्नो उम्मेदवारी भएको बताउँदै उनले मतदाताको आत्मामा ठेस लाग्न दिने काम कहिल्यै नगर्ने प्रतिवद्धता व्यक्त गरे । काँग्रेस बदल्नकै लागि विशेष महाधिवेशनबाट गगन थापालाई सभापति बनाएर प्रधानमन्त्री बनाउने तयारीका साथ काँग्रेस अगाडि वढेको भनाइ उनको थियो ।
देश कमजोर भएको अवस्थामा प्रत्येक भोटको अत्यन्तै महत्व हुने भएकाले सोतबिचार गरेर मत प्रयोग गर्न उनले मतदातालाई आग्रह गरे । हरेक व्यक्तिले स्वतन्त्र रुपमा आफ्नो पेशा व्यवसाय गरेर खान सक्ने वातावरण काँग्रेसले गर्ने बताउँदै उनले प्रजातन्त्रका लागि वि.स.२००७ सालदेखी नै काँग्रेस लड्दै आएको स्मरण गराए । उम्मेदवार बास्तोलाले यस क्षेत्रका जेन्जी युवाको काँग्रेसप्रति आकर्षण वढेको प्रतिक्रिया दिए ।
त्यसैगरी बुधबार पोखरा–१६ स्थित अर्मला कोट, डिहीगाउँ, पात्ले, अर्मला, घार्मीखोला, जोगिमणि, जुम्लेटी, गर्लाङ, तुम्के, घट्टेकुना, घोरकुना, खरिकुनामा घरदैलो गरी मतदाताका सुझाव तथा गुनासाहरु सुन्ने काम भएको जानकारी नेपाली काँग्रेस कास्की क्षेत्र नं २ का सभापति केशर निर्दोषीले दिए ।
जोगिमणिको चुनावी कोण सभालाई सम्बोधन गर्दै उम्मेदवार बास्तोलाले काली खोलामा तटबन्ध र यहाँका भित्री वस्तीमा सडक निर्माण गरी यातायातलाई सहज बनाउने प्रतिवद्धता उनको छ । साथै जोगिमणिको फाँट उर्भरा भूमि भएकाले यहाँ तरकारी तथा धानखेतीको रुपमा विकास गर्ने प्रतिवद्धता उनको छ ।
जोगिमणि बजार यस क्षेत्रको ग्रामिण बजार भएकाले यहाँबाट चारैतर्फ सडक सञ्जालको विकास गर्ने योजना बनाउन पनि आफू प्रतिवद्ध रहेको बताउँदै यहाँको स्वास्थ्य केन्द्रलाई व्यवस्थित गर्ने कार्यमा आफू सक्रिय भएर लाग्ने आश्वासन उम्मेदवार बास्तोलाले मतदातालाई दिए ।
घरदैलो कार्यक्रममा काँग्रेस नेताहरु सोभियतबहादुर अधिकारी, बिन्दुकुमार थापा,वीरेन्द्रनारायण विजुक्छे, केशर निर्दोषी, लक्ष्मी पाण्डे, तीर्थ गुरुङ, मदन केसी लगायतका नेताहरु सहभागी थिए । त्यसैगरी उम्मेदवार बास्तोलालो मंगलबार पोखरा–१६ को बाटुलेचौर, मैदान, महेन्द्रगुफा, चमेरे गुफा, बडरबोट, कुर लगायतका स्थानमा घरदैलो कार्यक्रम गरी मतदाताका सुझाव संकलन गरेका थिए ।






सम्बन्धित खवर















