0Shares

पोखरा। कास्की क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार खडकराज पौडेल ‘गनेश’ विजयी भएका छन्। कुल ७० हजार २ सय ३६ मत खसेकोमा उनले ३९ हजार ८ सय ८३ मत प्राप्त गर्दै प्रभावशाली जित हासिल गरेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तिलक रानाभाटले ११ हजार २ सय १४ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा एमालेका बैनबहादुर अधिकारी क्षेत्री १० हजार ४ सय २९ मतसहित तेस्रो स्थानमा रहे। नेपाली कम्युनिस्ट पार्टीका राजकाजी गुरुङले २ हजार ४ सय ७९ मत प्राप्त गरेका छन्।

पोखरा–१४ मझेरीपाटन निवासी पौडेल लेखक, शिक्षक तथा सामाजिक अभियन्ताका रूपमा परिचित छन्। अंग्रेजी साहित्यमा स्नातक गरेका उनले पोखरा विश्वविद्यालयबाट बिजनेस एडमिनिस्ट्रेसन (एमबिए) पनि गरेका छन्। करिब १५ वर्षभन्दा बढी शिक्षण अनुभव सँगालेका उनले पोखरामा ‘¥यान्डम रिडर्स सोसाइटी’मार्फत पठन संस्कृतिको विकास गर्ने अभियान चलाएका छन्।

उनले ‘पैताला’ नामक प्रयोगवादी उपन्यासमार्फत नेपाली साहित्यमा ‘एब्सर्ड’ चेतना भित्र्याउने प्रयास गरेका छन्। परम्परागत राजनीतिक संस्कृतिको आलोचना गर्दै उनले ‘विचारले जित्ने, चरित्रले टिक्ने’ वैकल्पिक राजनीतिको पक्षमा आवाज उठाउँदै आएका छन्।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहका निकट मानिने पौडेल ‘अटेरी’ अभियानका प्रवर्तकका रूपमा पनि चिनिन्छन्। सत्ता र शक्तिको दुरुपयोगविरुद्ध नागरिकस्तरको सविनय अवज्ञाको अभियानका रूपमा उनले यसको व्याख्या गर्दै आएका छन्। हाल उनी राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य समेत हुन्। कास्की–१ मा उनको विजयलाई पुराना राजनीतिक दलहरूको वर्चस्व तोड्दै नयाँ राजनीतिक सन्देशका रूपमा हेरिएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected