0Shares

पोखरा, १९ चैत — नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर पोखरामा आयोजना हुने २१औँ फेवा नव वर्ष महोत्सवमा करिब तीन लाख आन्तरिक तथा बाह्य पर्यटक भित्रिने अनुमान गरिएको छ।

होटल संघ पोखरा नेपालले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष लक्ष्मण सुवेदीले उक्त जानकारी दिएका हुन्। उनका अनुसार चैत २९ देखि वैशाख १ गतेसम्म लेकसाइड क्षेत्रमा आयोजना हुने महोत्सवका लागि तयारी अन्तिम चरणमा पुगेको छ।

महोत्सव अवधिभर होटलहरूको अकुपेन्सी दर ९० प्रतिशतसम्म पुग्ने अपेक्षा गरिएको छ। खहरेचोकदेखि सहिदचोकसम्मको सडक क्षेत्रमा सञ्चालन हुने महोत्सवमा पर्यटन, संस्कृति र खानालाई विशेष प्राथमिकता दिइनेछ। प्रवेश निःशुल्क रहनेछ भने सदस्य होटलहरूले प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुट दिने घोषणा गरेका छन्। साथै eSewaमार्फत बुकिङ गर्दा १० प्रतिशतसम्म क्यासब्याक सुविधा पनि उपलब्ध हुनेछ।

महोत्सवका प्रमुख आकर्षणहरूमा प्रदेशस्तरीय मौलिक तथा रैथाने खानाको प्रदर्शनी, पंचेबाजा प्रतियोगिता र पर्यटक दौड प्रतियोगिता रहेका छन्। यसका साथै सांस्कृतिक कार्यक्रम, लोकदोहोरी र पप कन्सर्टहरू पनि आयोजना गरिनेछन्।

खहरेबाट सुरु हुने झाँकी अम्बोटमा पुगेपछि औपचारिक उद्घाटन गरिने कार्यक्रम रहेको छ। महोत्सव सफल बनाउन विभिन्न उपसमितिहरू सक्रिय छन्। प्रचारप्रसारका लागि देशका विभिन्न शहरहरूमा ‘जाउँ है पोखरा’ अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ।

महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी प्रालि रहेको छ भने सहप्रायोजक र अन्य प्रायोजकहरूमा विभिन्न संस्थाहरूको सहभागिता रहेको छ। महोत्सव प्रवर्द्धनमा नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका लगायतका निकायहरूको सहकार्य रहनेछ।

पत्रकार सम्मेलनमा पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने र संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले पनि महोत्सवको महत्त्वबारे प्रकाश पारेका थिए। कार्यक्रम सञ्चालन संघकी सचिव पार्वता पाण्डेले गरेकी थिइन्।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected