0Shares
पोखरा।  नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको नवौं प्रदेश सभा तथा कार्यकारिणी समितिको निर्वाचन शनिबार सम्पन्न भएको छ। सभाले नरेश कंडेलको नेतृत्वमा नयाँ कार्यकारिणी समिति सर्वसम्मत चयन गर्दै आगामी कार्यकालका लागि नयाँ दिशा तय गरेको छ।
शुक्रवार सम्पन्न निर्वाचनले उपाध्यक्षमा जिल्ला/नगरतर्फ मिग्रेन्द्र घिमिरे, एसोसियटतर्फ सूर्यबहादुर भुजेल, वस्तुगततर्फ हरिकुमार श्रेष्ठ तथा कोषाध्यक्षमा राजेन्द्र ओझा चयन गरेको हो । कार्यकारिणी सदस्यहरूमा जिल्ला/नगरतर्फ दीपकप्रसाद सापकोटा, रामकुमार श्रेष्ठ, हस्तबहादुर खड्का, बिमल रिमाल, दयाराम पौडेल, ढालेन्द्र छन्त्याल र ठाकुर बी. पौडेल रहेका छन्। यस्तै, एसोसियटतर्फ रामचन्द्र रेग्मी र झलकलाल श्रेष्ठ तथा वस्तुगततर्फ हिरामणि पण्डित र चन्द्रकिशोर गौतम चयन भएका छन्। निवर्तमान अध्यक्ष अमृत भट्टचन स्वत: कार्यसमिति सदस्य रहने प्रावधान छ।
नवनिर्वाचित अध्यक्ष कंडेलले सर्वसम्मत कार्यसमिति चयनका लागि सहयोग गर्ने संस्थापक तथा निवर्तमान अध्यक्ष, जिल्ला तथा नगर उद्योग वाणिज्य संघका प्रतिनिधि, एसोसियट र वस्तुगत समूहका प्रतिनिधिप्रति आभार व्यक्त गरे। उनले प्राप्त विश्वासलाई कायम राख्दै संस्थागत सुदृढीकरणमा प्रतिबद्ध रहने बताए।
प्रतिबद्धता मन्तव्यका क्रममा अध्यक्ष कंडेलले महासंघको आफ्नै सचिवालय स्थापना, उद्यमी–व्यवसायीको हकहित संरक्षण, कर प्रणालीसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन तथा राज्यसँग सहकार्य गर्दै लगानीमैत्री वातावरण निर्माणमा जोड दिने उल्लेख गरे। साथै, गण्डकी प्रदेशलाई पर्यटन प्रवर्द्धनको प्रमुख केन्द्र (हब)का रूपमा विकास गर्ने लक्ष्यसमेत अघि सारे।
यसअघि उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र बारम्बार राजनीतिक आन्दोलनको निशाना बन्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे। उनले २०४६ सालको जनआन्दोलनदेखि हालसम्म उद्योग प्रतिष्ठानहरू आगजनी, तोडफोड र लुटपाटको सिकार हुँदै आएको उल्लेख गरे।
अध्यक्ष ढकालले निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा ल्याउने प्रयास विफल पार्न महासंघले खेलेको भूमिकाको चर्चा गर्दै निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीति (पिएसपिपि) पारित गरेकोमा सरकारप्रति आभार व्यक्त गरे। उक्त रणनीतिले लगानी वृद्धि, रोजगारी सिर्जना तथा समग्र आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास उनले व्यक्त गरे। साथै, कालोबजारी ऐनसहित ३० भन्दा बढी कानुन परिमार्जन आवश्यक रहेको औंल्याए।
महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले निजी क्षेत्रका संघ–संस्थाबीच एकताको अभाव रहेको उल्लेख गर्दै महासंघभित्रको अदृश्य राजनीतिक प्रभाव अन्त्य गर्नुपर्ने बताए।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूले पनि धारणा राखेका थिए। नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले निर्वाचनमा हार्दैमा जिम्मेवारी कम नहुने बताए भने नेकपा (एमाले) गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले राजनीतिक स्थायित्वबिना लगानीमैत्री वातावरण सम्भव नहुने धारणा व्यक्त गरे।
कार्यक्रममा महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्ष हेमराज ढकाल, केन्द्रीय सदस्य उमेश बानियाँलगायत विभिन्न प्रदेशका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
सभामा प्रस्तुत आर्थिक तथा प्रगति प्रतिवेदनहरू संशोधनसहित पारित गरिएको छ। कोषाध्यक्ष नवराज सुवेदीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र कार्यालय प्रमुख निशान खनालद्वारा प्रस्तुत कार्यप्रगति प्रतिवेदनमाथि छलफलपछि अनुमोदन गरिएको हो।
यस अवसरमा गण्डकी प्रदेशमा उद्योग, व्यवसाय तथा सामाजिक क्षेत्रमा योगदान पु¥याउने विभिन्न संघ–संस्थालाई सम्मान गरिएको छ। जिल्ला तथा नगरतर्फ वालिङ उद्योग वाणिज्य संघ, पर्यटनतर्फ रेवान पोखरा तथा एसोसियटतर्फ पोखरा भिलेज रिसोर्ट, पोखरा युनाइटेड क्लब, सहारा क्लब पोखरा, गण्डकी टेनिस संघ, मौलाकाली केबलकार र टाइगर ग्रुप पोखरा सम्मानित भएका छन्।
महासंघ गण्डकीमा जिल्ला/नगरतर्फ २३, एसोसियटतर्फ ५५ र वस्तुगततर्फ ६ सदस्य आबद्ध छन्। नवौं प्रदेश सभा तथा निर्वाचनमा जिल्ला/नगरका २५, एसोसियटका १०२ र वस्तुगत संघका १७ गरी कुल १४४ प्रतिनिधिको सहभागिता रहेको थियो।
0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected