कास्की–२ का सांसद उत्तम प्रसाद पौडेलका २४ बुँदे प्रस्ताव: पर्यटनदेखि पूर्वाधारसम्म
- April 3, 2026
- 504

काठमाडौँ । गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाका सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहले विकास र समसामयिक विषयमा केन्द्रित हुँदै विस्तृत सामूहिक छलफल गरेका छन्। प्रधानमन्त्री कार्यालयमा शुक्रबार आयोजित उक्त बैठकमा प्रदेशको दीर्घकालीन विकास, पूर्वाधार विस्तार, पर्यटन प्रवर्द्धन तथा जनजीविकासँग प्रत्यक्ष जोडिएका समस्याहरूका विषयमा गहन छलफल भएको जनाइएको छ।
छलफलका क्रममा कास्की क्षेत्र नम्बर २ का सांसद उत्तम प्रसाद पौडेलले विशेषगरी पोखरामहानगर क्षेत्रका समस्या र सम्भावनालाई समेट्दै २४ बुँदे सुझाव तथा माग प्रस्तुत गरेका थिए। उनले बहुआयामिक पर्यटन विकासलाई प्राथमिकतामा राख्दै कृषि, धार्मिक, गुफा तथा ताल पर्यटनलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
राज्यका सम्पत्तिहरूलाई दलगत प्रभावबाट मुक्त गरी सरकारी मातहतमा ल्याउनुपर्ने आवश्यकता औंल्याउँदै उनले पोखराका वडा नं. २१, ११, २० र ३३ मा देखिएको खानेपानी संकट तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराए। साथै, पूर्वाधार निर्माणका क्रममा काम अलपत्र पार्ने ठेकेदारमाथि कडा कारबाही गरी सडक निर्माण कार्यलाई तीव्रता दिनुपर्ने माग पनि राखे।
पर्यटन क्षेत्रको दिगो विकासका लागि नयाँ गन्तव्यहरूको पहिचान र पर्यटकको बसाइ अवधि बढाउने नीतिगत सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले फेवाताललाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्नुपर्ने तथा अन्य तालहरूको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताए।
कर प्रणालीलाई न्यायोचित र सन्तुलित बनाउन पूर्वाधार नपुगेका वडाहरूमा कर दर पुनरावलोकन गर्नुपर्ने सुझाव दिँदै उनले उच्च उचाइमा खेलिने ‘हाइ अल्टिच्युड फुटबल ग्राउन्ड’ निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, पोखरामा रहेका करिब ८ देखि १२ हजार भूमिहीनहरूको समस्या स्थायी रूपमा समाधान गर्न सरकार गम्भीर हुनुपर्ने धारणा राखे।
स्वास्थ्य क्षेत्रतर्फ ध्यानाकर्षण गराउँदै पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा तथा भौतिक पूर्वाधार स्तरोन्नति गर्नुपर्ने, गण्डकी प्रदेशमै मुटु रोगको उपचारका लागि विशेष अस्पताल स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइयो। अस्पतालहरूमा दक्ष जनशक्ति व्यवस्थापनमा सुधार आवश्यक रहेको पनि उनले बताए।
यसैगरी, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउन र त्यहाँ देखिएको अनियमिततामाथि निष्पक्ष छानबिन गर्नुपर्ने माग गरिएको छ। पोखरा–२१ र १७ जोड्ने दम्सादी पुलको निर्माण कार्यलाई तत्काल अघि बढाउनुपर्ने विषय पनि उनले उठाए।
फोहोरमैला व्यवस्थापनलाई आधुनिक र दीर्घकालीन रूपमा समाधान गर्न समन्वयात्मक पहल आवश्यक रहेको औंल्याउँदै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP) सँग सम्बन्धित समस्याहरूको दीर्घकालीन समाधान खोज्नुपर्नेमा उनले जोड दिए। साथै, सडक सञ्जाल विस्तार अन्तर्गत पोखरा–२० को र्यालेचौरदेखि आटिघर, मौजा, मोहरिया हुँदै डाँडागाउँ जोड्ने सडक निर्माणलाई प्राथमिकता दिनुपर्ने माग राखे।
स्थानीय आर्थिक सशक्तीकरणका लागि होमस्टे प्रवर्द्धन, व्यवसायीहरूलाई बीमा सुविधासँग जोड्ने व्यवस्था तथा युवाहरूका लागि प्राविधिक शिक्षा सुधार गरी स्वदेशमै रोजगारी सुनिश्चित गर्नुपर्ने विषयमा पनि सांसद पौडेलले सरकारको ध्यानाकर्षण गराएका थिए।
त्यस्तै, गोरखनाथ गुफा, गुप्तेश्वर गुफा, डेभिज फल्स र छोरेपाटन क्षेत्रको संरक्षण तथा पर्यटकीय विकासमा जोड दिँदै कृषकहरूलाई समस्या बनिरहेको बाँदर नियन्त्रणका लागि वैज्ञानिक उपाय अवलम्बन गर्नुपर्ने तथा कफी र सुन्तला खेती प्रवर्द्धनमा विशेष कार्यक्रम ल्याउनुपर्ने सुझाव समेत प्रस्तुत गरिएको छ।
बैठकमा उठाइएका विषयहरूलाई प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिँदै आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्। उक्त छलफलले गण्डकी प्रदेशको समग्र विकासका लागि केन्द्र र प्रदेशबीच समन्वयलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।





सम्बन्धित खवर
















