
पोखरा, वैशाख १ — पोखरा-११, काहुँकोटको रमणीय डाँडामा “काहुँकोट रिसोर्ट प्रा.लि.” सञ्चालनमा आएको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रमै स्थापना गरिएको रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै सेवा सुरु गरेको हो।

विशेष समारोहबीच रिसोर्टको उद्घाटन स्थानीय समाजसेवी तिर्थ बहादुर बस्नेत र कम्पनीका अध्यक्ष कुमार के.सी.ले संयुक्त रूपमा गरेका थिए। उद्घाटन समारोहमा बोल्दै बस्नेतले काहुँकोटलाई नयाँ पर्यटकीय केन्द्रका रूपमा विकास गर्न रिसोर्टले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले यसले पोखराको पर्यटन क्षेत्रलाई थप गतिशील बनाउने धारणा राखे।


कार्यक्रममा स्थानीय बासिन्दा, पर्यटन व्यवसायी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
रिसोर्टका अध्यक्ष के.सी.का अनुसार पाहुनालाई प्राकृतिक सौन्दर्यसँगै आरामदायी अनुभव प्रदान गर्ने उद्देश्य राखिएको छ। रिसोर्टमा आधुनिक सुविधा सम्पन्न आवास, स्थानीय तथा अन्तर्राष्ट्रिय परिकारसहितको भोजन व्यवस्था उपलब्ध छ। साथै, २०० र ६० जना क्षमताका दुईवटा सेमिनार हल तथा विविध मनोरञ्जनका सुविधा रहेका छन्। यहाँबाट फेवाताल, पोखरा उपत्यका र हिमालय श्रृंखलाको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ।

प्रबन्ध सञ्चालक उषा क्षेत्रीले रिसोर्टले गुणस्तरीय सेवा प्रदान गर्नुका साथै स्थानीय संस्कृति, परम्परा र उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्य लिएको बताइन्। उनका अनुसार यसले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्दै आर्थिक गतिविधि वृद्धि गर्न सहयोग पुर्याउनेछ। हाल १५ जनाले प्रत्यक्ष रोजगारी पाइसकेका छन्।
करिब २५ करोड रुपैयाँ लगानीमा ४१ जना सञ्चालकको सहभागितामा सञ्चालनमा आएको रिसोर्टमा हाल २० कोठा उपलब्ध छन्। निकट भविष्यमा थप १५ कोठा निर्माण गरी कुल ३५ कोठा पुर्याउने तथा स्विमिङ पुल निर्माण गर्ने योजना रहेको छ। कोठा शुल्क ३,५०० देखि ६,५०० रुपैयाँसम्म निर्धारण गरिएको छ, जसमा ‘बेड एन्ड ब्रेकफास्ट’ सुविधा समावेश छ।

महेन्द्रपुलदेखि करिब ५ किलोमिटर दूरीमा अवस्थित यो रिसोर्टले पछिल्लो समय बढ्दो पर्यटक आगमनलाई मध्यनजर गर्दै नयाँ गन्तव्यको खोजीमा रहेका पर्यटकका लागि आकर्षक विकल्प प्रस्तुत गरेको छ। स्थानीय बासिन्दाहरूले समेत रिसोर्ट सञ्चालनसँगै काहुँकोट क्षेत्र थप विकसित पर्यटन केन्द्र बन्ने अपेक्षा गरेका छन्।





सम्बन्धित खवर














