0Shares

पोखरा। हेम्जामा जारी आलु महोत्सवको चौथो दिन सोमबारसम्म आइपुग्दा त्यहाँ १३ लाख रुपैयाँभन्दा बढीको आलु कारोबार भएको छ। महोत्सव मध्यतिर प्रवेश गर्दा दर्शक सहभागिता समेत उल्लेख्य रूपमा बढ्दै गएको आयोजकले जनाएको छ।

शनिबार र आइतबार सार्वजनिक बिदा परेको तथा सोमबार पनि मौसम अनुकूल भएसँगै पछिल्ला दिनहरूमा कारोबार ह्वात्तै बढेको हो। महोत्सव स्थलमा आलुका परिकारका एक स्टल, ३० वटा कृषि स्टल तथा अन्य सयभन्दा बढी व्यापारिक स्टल सञ्चालनमा रहेका छन्। आलुको कारोबार प्रतिकेजी ३५ रुपैयाँमा भइरहेको छ।

सोमबार मात्रै ५ लाख रुपैयाँभन्दा बढीको आलु बिक्री भएको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक अर्जुन साकीले जानकारी दिए। उनका अनुसार हालसम्म सबैभन्दा बढी ८ सय केजीसम्म र न्यूनतम १ केजीसम्म ग्राहकले आलु खरिद गरेका छन्।

सामान्यतया २० देखि ३० केजीसम्म आलु किन्ने ग्राहकको संख्या धेरै रहेको छ। कास्कीका छिमेकी पालिकासहित चितवन, मकवानपुर, पर्वत, बागलुङ, तनहुँ, लमजुङ, स्याङ्जा, म्याग्दी र मुस्ताङबाट समेत आलु किन्न मानिसहरू आउने गरेका छन्।

हेम्जाको आलु स्वादिलो, छिटो पाक्ने र अन्य स्थानको तुलनामा स्वास्थ्यकर मानिने भएकाले आफूहरू खरिद गर्न आएको तनहुँकी रमिला सुनारले बताइन्।

महोत्सव स्थल विष्णुपादुका खेल मैदान मात्र नभई हेम्जाका स्थानीय घरघरबाट समेत आलु तथा अन्य कृषि उपजको बिक्री वितरण बढेको छ।

महोत्सवमा सोमबार कलाकारहरू पुरुषोत्तम न्यौपाने, रामजी पौडेल, सरस्वती लामिछाने, कमला गैह्रे, किशन नेपाली, भूमिका पंगेनी, कृश्तीना क्षेत्री, प्रकाश विक्रम र राजमाझी लगायतले प्रस्तुति दिएका थिए। हास्य कलाकार राजेन्द्र गिरी (जादुगर गुन्दुक) र मनोज गोरखालीले दर्शकलाई हसाएका थिए।

यस्तै गुरुकुल विद्यासदन मावि नयाँबजार र स्नो भ्यू बोर्डिङ स्कुल हेम्जाले पनि सांस्कृतिक प्रस्तुति दिएका छन्। पप कन्सर्टतर्फ देउराली, लेकाली, ब्रोजिस ब्याण्ड लगायतले दर्शकलाई मनोरञ्जन दिएका छन्।

मंगलबार नयाँ वर्षको दिन शिव हमाल, राजु ढकाल, कुमार पुन, ममता तामाङ, शुभद्रा श्रेष्ठ, भूमिका पंगेनी र प्रजिता सुनार लगायतका कलाकारहरूको प्रस्तुति रहने सांस्कृतिक उपसमितिका सदस्य परशुराम अधिकारीले जानकारी दिए।

महोत्सव अन्तर्गत आलु तथा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, विभिन्न परिकार प्रदर्शन र कृषि सम्बन्धी सांस्कृतिक कार्यक्रम सञ्चालन भइरहेका छन्। साथै कृषि झाँकी प्रतियोगिता, दैनिक सांस्कृतिक प्रस्तुति, कृषि उपकरण तथा उत्पादनको प्रदर्शनी पनि आकर्षणका रूपमा रहेका छन्।

सोमबारसम्म करिब ४० हजारभन्दा बढी दर्शकले महोत्सव अवलोकन गरिसकेको आयोजक विष्णुपादुका क्लबका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected