गण्डकीमा मन्त्रिमण्डल विस्तार: एमाले–कांग्रेसबाट ८ मन्त्रीको सपथ, ९ सदस्यीय क्याबिनेट पूर्ण
- April 15, 2026
- 306

पोखरा। गण्डकी प्रदेश सरकारको मन्त्रिमण्डल विस्तारसँगै नवनियुक्त ८ मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन्। प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा उनीहरूलाई नियुक्त गर्दै सपथ गराएका हुन्।
सत्तारुढ गठबन्धनमा रहेका नेकपा एमाले र नेपाली कांग्रेसबाट समान ४–४ जना मन्त्री समेटिएका छन्। मन्त्रिमण्डल विस्तारसँगै अब गण्डकी प्रदेश सरकार ९ सदस्यीय बनेको छ।
नेकपा एमालेका तर्फबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री नियुक्त भएका छन्। यस्तै, यशोदा रिमाल उद्योग तथा पर्यटन मन्त्री, लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री र भीम कार्की स्वास्थ्य मन्त्री बनेका छन्।
नेपाली कांग्रेसका तर्फबाट जित शेरचन अर्थ मन्त्री बनेका छन् भने नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भएका छन्। त्यसैगरी सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ र वन तथा वातावरण मन्त्रीको जिम्मेवारीमा नम्डु गुरुङ रहेका छन्।
यसअघि कृषि मन्त्रालय पद्मा जिसी, स्वास्थ्य मन्त्रालय कृष्ण पाठक, भौतिक पूर्वाधार मन्त्रालय प्रकाश केसी र उद्योग तथा पर्यटन मन्त्रालय मित्रलाल बस्यालले सम्हाल्दै आएका थिए। अर्थ मन्त्रालय डा. टकराज गुरुङ, सामाजिक विकास मन्त्रालय विन्दुकुमार थापा तथा वन तथा वातावरण मन्त्रालय भेषबहादुर पौडेलको जिम्मेवारीमा थियो। ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय भने मुख्यमन्त्री सुरेन्द्र पाण्डेले नै सम्हाल्दै आएका थिए।





सम्बन्धित खवर















