
पोखरा। पोखरा महानगरपालिका वडा नम्बर १३ ले ‘साहित्य पर्व’ को तयारी तीव्र पारेको छ। शब्दसँगको आत्मीयता अभिवृद्धि गर्दै पठन संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको उक्त पर्व वैशाख १२ गते वडा कार्यालय परिसरमा हुने भएको छ। कार्यक्रमको समन्वय आशीर्वाद क्लब र अरण्यज्योति पुस्तकालयले गरेका छन्।
धार्मिक, ऐतिहासिक तथा साहित्यिक दृष्टिले समृद्ध मानिने यस वडाले आफ्नो मौलिक पहिचानलाई थप उचाइमा पुर्याउने लक्ष्यसहित दोस्रो चरणको साहित्यिक कार्यक्रम आयोजना गर्न लागेको हो। आयोजकका अनुसार यस पर्वले स्थानीयदेखि राष्ट्रिय तहसम्म साहित्यप्रेमीको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा प्रमुख वक्ताका रूपमा साहित्यकार तथा पत्रकार नारायण वाग्ले सहभागी हुनेछन्। उनले ‘मसीको सुगन्धदेखि एल्गोरिदमको गहिराइसम्म : साहित्यको एक शताब्दी यात्रा’ विषयमा विचार राख्नेछन्।
वडाध्यक्ष किरण बरालले वडाको समग्र विकासका लागि भौतिक पूर्वाधारसँगै बौद्धिक र सांस्कृतिक चेतनाको विकास अपरिहार्य रहेको बताए। उनका अनुसार साहित्यिक गतिविधिले वडाको ऐतिहासिक, धार्मिक तथा जातीय विविधतालाई जोड्ने काम गर्नेछ र नयाँ पुस्तालाई आफ्नो पहिचानप्रति जागरूक बनाउनेछ।
संयोजक राजेन्द्र भण्डारीले कार्यक्रम सिर्जनात्मक प्रतिभा प्रस्फुटनको सशक्त मञ्च बन्ने विश्वास व्यक्त गरे। उनका अनुसार पर्वअन्तर्गत ६ वटा विभिन्न सत्र सञ्चालन गरिनेछन्। पहिलो सत्रमा कलाकार दुर्गा बरालले ‘बितेका पाइला र आउने बाटो : पोखराका युगपुरुषहरूको पदचापमा’ विषयमा अन्तर्संवाद गर्नेछन्, जसमा लोककवि अलि मियाँ, जगन्नाथ सिग्देल र टेकबहादुर ढेवाजुको योगदानबारे चर्चा हुनेछ।
यसैगरी समाजशास्त्री डा. कपिल अधिकारीले ‘अक्षरदेखि एल्गोरिदमसम्म : हाम्रो अबको शिक्षा र बदलिँदो समाज’ विषयमा मन्तव्य दिनेछन्। उद्यमी नारायण पौडेल र सुमेजराज भण्डारीसँग प्रविधि र औद्योगिक यात्राबारे संवाद हुनेछ भने ‘नारी अस्तित्वका स्वरहरू’ सत्रमा सरस्वती प्रतीक्षा र हसिना बस्नेतबीच साहित्यमा नारीको प्रतिनिधित्वका विषयमा छलफल गरिनेछ।
पर्वको आकर्षणका रूपमा कन्दरा ब्यान्डका गायक विवेक श्रेष्ठसँग पोखराको सांगीतिक यात्राबारे भलाकुसारी हुने र उनका चर्चित गीतहरू प्रस्तुत गरिने कार्यक्रम पनि समावेश गरिएको छ।
स्थानीय प्रतिभाहरू धर्मराज अल्पायु, नुमराज बराल, अमर धिताल, सरस्वती परियार र सरस्वती श्रेष्ठ सरुले पनि आफ्ना सिर्जना र गायन प्रस्तुत गर्नेछन्।
अरण्यज्योति पुस्तकालय र भद्रकाली माध्यमिक विद्यालय जस्ता प्राज्ञिक संस्थाहरू रहेको यस वडाले शब्दको शक्तिमार्फत सामाजिक रूपान्तरणको अभियान अघि बढाउने लक्ष्य लिएको छ। पहिलो साहित्य पर्वको सफलताबाट उत्साहित आयोजकले यस वर्षको कार्यक्रम अझ भव्य र सभ्य बनाउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।









