0Shares

पोखरा । गण्डकी प्रदेशको पर्यटकीय गन्तव्य बन्दीपुरमा यही वैशाख १८ र १९ गते गाउँ पर्यटन मार्ट आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजना तथा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकीको सह–आयोजनामा उक्त मार्ट सञ्चालन हुन लागेको जानकारी शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बाबु थापाले दुई दिने मार्ट बन्दीपुर बजार क्षेत्रमा सञ्चालन हुने जानकारी दिँदै यसले स्थानीय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । “बन्दीपुर भ्रमण वर्ष २०२५ सम्पन्न भइसकेको छ र अब गाउँ पर्यटन भ्रमण वर्षसमेत घोषणा गरिएको अवस्थामा यस्तो मार्ट आयोजना हुनु आफैंमा विशेष महत्वको विषय हो,” उनले भने ।

अध्यक्ष थापाका अनुसार बन्दीपुर होमस्टे सर्किट निर्माणको काम अन्तिम चरणमा पुगेको छ, जसले गाउँ पर्यटनलाई थप व्यवस्थित र आकर्षक बनाउने अपेक्षा गरिएको छ । यसअघि पोखरामा तीन संस्करण सम्पन्न भइसकेको मार्टको चौथो संस्करण बन्दीपुरमा आयोजना हुन लागेको पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले जानकारी दिए ।

मार्टमा सामुदायिक होमस्टे तथा पर्यटन व्यवसायीका स्टलहरू स्थापना गरिनुका साथै प्यानल छलफल, विभिन्न जातजातिका सांस्कृतिक प्रस्तुति, प्रचारप्रसार सामग्री वितरणलगायत विविध कार्यक्रम समावेश गरिनेछ । यसले स्थानीय संस्कृति, कला र जीवनशैलीलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

आयोजकका अनुसार मार्टको मुख्य उद्देश्य बी–टू–बी (व्यवसाय–देखि–व्यवसाय) र बी–टू–सी (व्यवसाय–देखि–ग्राहक) कनेक्टिभिटीमार्फत गाउँका साना पर्यटन व्यवसायी तथा सामुदायिक होमस्टेलाई सिधै सहरी बजार र ठूला एजेन्सीसँग जोड्ने प्लेटफर्म निर्माण गर्नु हो । साथै, सामुदायिक सेवाहरूको बजारीकरण, निजी तथा सरकारी लगानी अभिवृद्धि र समग्र गाउँ पर्यटनको विकासमा टेवा पुर्‍याउने लक्ष्य लिइएको छ ।

मार्टमा करिब ३० भन्दा बढी गाउँ पर्यटनसँग सम्बन्धित होमस्टे, फर्म, पर्यटन व्यवसायी, नीति निर्माता, स्थानीय तहका प्रतिनिधि, संघसंस्था, सञ्चारकर्मी, स्वदेशी तथा विदेशी पर्यटक, कलेज तथा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।

भिटोफ गण्डकीका अध्यक्ष सोभा सापकोटाको अध्यक्षता सचिव लक्ष्मण पहारीको संचालनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मार्टलाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected