0Shares
पोखरा, १ जेठ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तथ्याङ्कमा आधारित पत्रकारिताले लोकतन्त्रलाई थप सुदृढ र उत्तरदायी बनाउने बताएका छन्। प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशद्वारा आयोजित आठहप्ते डेटा ड्रिभन जर्नालिज्म (तथ्याङ्क पत्रकारिता) तालिमको समापन समारोहमा बोल्दै उनले अबको पत्रकारिता “कसले के भन्यो” भन्दा पनि “तथ्य र प्रमाणले के देखायो” भन्नेमा केन्द्रित हुनुपर्ने बताए।

मुख्यमन्त्री पाण्डेले परम्परागत पत्रकारिता राजनीतिक भाषण, आरोप–प्रत्यारोप र प्रतिक्रियामै सीमित हुँदै गएको उल्लेख गर्दै तथ्यमा आधारित समाचारले मात्रै समाजको वास्तविक अवस्था उजागर गर्ने धारणा राखे। “अबको युग भनाइको होइन, तथ्य र प्रमाणको हो। तथ्याङ्कले कहिल्यै झुट बोल्दैन,” उनले भने।

उनका अनुसार पत्रकारहरूले सरकारका बजेट, महालेखा प्रतिवेदन र विकासका सूचकाङ्कको विश्लेषण गरेर समाचार तयार गर्दा नागरिकले शासनको वास्तविक चित्र बुझ्न सक्नेछन्। उनले तालिमले पत्रकारितालाई ‘भनाइबाट तथ्यतर्फ’ मोड्ने महत्वपूर्ण पहल गरेको बताए।

गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारीले तालिम प्रदेशको पत्रकारितामा “नयाँ युगको सुरुआत” भएको बताइन्। पत्रकारिता अब भाषणमुखी नभई तथ्याङ्कमुखी बन्नुपर्ने आवश्यकता महसुस गर्दै कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ थियो।

उनले तालिमलाई सामान्य क्षमता विकास कार्यक्रम नभई पत्रकारिताको “क्रियात्मक रूपान्तरण अभियान” का रूपमा व्याख्या गर्दै तालिमबाट प्रशिक्षित १८ जना पत्रकार अब गण्डकी प्रदेशका “डेटा फोकल पर्सन” का रूपमा सक्रिय हुने बताइन्।

गण्डकी प्रदेशका निमित्त प्रमुख सचिव कृष्णप्रसाद लम्सालले नतिजामुखी क्षमता अभिवृद्धि कार्यक्रमलाई सरकारले प्राथमिकतामा राख्ने जानकारी दिए।

त्यसैगरी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले पत्रकारिता क्षेत्रको विकासका लागि पर्याप्त बजेट विनियोजन गर्न सरकारसँग आग्रह गरे।

कार्यक्रममा प्रमुख प्रशिक्षक उमेश श्रेष्ठ तथा प्रशिक्षार्थीहरू श्रीधर उपाध्याय, खिमा गुरुङ, प्रकाश ढकालयुवराज श्रेष्ठलगायतले तालिम अनुभव र डेटा पत्रकारिताको आवश्यकता बारे धारणा राखेका थिए।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected