
न्यायिक समन्वय र सहकार्य सुदृढ गर्ने प्रतिबद्धता
अन्नपूर्ण, कास्की । स्थानीय तहहरूबीच न्यायिक समन्वय, सहकार्य तथा मेलमिलाप प्रक्रियालाई थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले आयोजित कास्की जिल्लास्तरीय न्यायिक सम्मेलन अन्नपूर्ण गाउँपालिका–१०, घान्द्रुकमा सम्पन्न भएको छ। सम्मेलनले न्यायिक अभ्यासमा एकरूपता कायम गर्दै नागरिकमैत्री न्याय प्रवाहलाई सुदृढ बनाउने विषयलाई प्राथमिकतामा राखेको छ।
अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ प्रमुख अतिथि रहनुभएको थियो। विशेष अतिथिका रूपमा गण्डकी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा तथा अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष विष्णुबहादुर के.सी. सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा माछापुछ्रे गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारी र रूपा गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङको पनि उपस्थिति रहेको थियो भने मादी गाउँपालिकाबाट सहभागिता रहेको थिएन ।
त्यसैगरी अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बराल, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा नं. १० र ११ का जनप्रतिनिधिहरू, विभिन्न स्थानीय तहका न्यायिक समिति सदस्यहरू, वडा सचिवहरू तथा मेलमिलापकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सम्मेलनले स्थानीय तहहरूबीच न्यायिक समन्वय र सहकार्यलाई संस्थागत रूपमा अगाडि बढाउने, मेलमिलाप तथा न्यायिक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा नागरिकसँग प्रत्यक्ष जोडिने न्यायिक समिति केन्द्रित कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेको छ।
कार्यक्रममा वक्ताहरूले स्थानीय तहका न्यायिक समितिहरूले नागरिकलाई छिटो, सहज र पहुँचयोग्य न्याय उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै न्यायिक प्रक्रियामा समन्वय, दक्षता र जनविश्वास अभिवृद्धिका लागि यस्ता सम्मेलन उपयोगी हुने धारणा व्यक्त गरेका थिए।
सम्मेलनले स्थानीय सरकारमार्फत न्याय सम्पादन प्रक्रियालाई थप व्यवस्थित, प्रभावकारी तथा नागरिकमैत्री बनाउने विश्वास व्यक्त गर्दै सम्पन्न भएको आयोजकले जनाएको छ।







सम्बन्धित खवर















